विराटनगर/ स्वास्थ्यलाई असर गर्ने गुणस्तरहीन सेनिटाइजर बजारमा छ्यापछ्याप्ती बिक्री वितरण हुने गरेको पाइएको छ ।
औषधि व्यवस्था विभाग विराटनगरले गरेको अनुगमनको क्रममा बजारमा बिक्री वितरणमा राखिएका सेनिटाइजर मापदण्ड विपरीत स्वास्थ्यलाई असर गर्नेे गुणस्तरहीन भेटिएको हो । अनुगमनको क्रममा सुनसरीको नरसिङ गाउँपालिका–४ स्थित ‘सीता हर्बल केमिकल उद्योग’ ले उत्पादन गर्ने सेनिटाइजर मापदण्ड विपरीतको रहेको पाइएपछि विभागले कारबाहीको दायरामा ल्याएको छ ।
सो उद्योगले मापदण्ड विपरीतको ‘मिथानोल स्प्रिट’ हालेर सेनिटाइजर उत्पादन गरी बिक्री गरेको पाइएपछि कारबाही गरेको नेपाल औषधि व्यवस्था विभाग विराटनगर शाखाका प्रमुख सञ्जीव शर्मा कट्टेलले जानकारी दिए । हानिकारक वस्तु हालेर सेनिटाइजर उपत्पादन गरेको पाइएपछि उद्योग बन्द गर्न निर्देशन दिएको उनले बताए । सीता हर्बलका सञ्चालक उमानन्द यादव हुन् । यादवको उद्योगले उत्पादन गरेको सेनिटाइजर मोरङ र सुनसरी पठाउने गरेको बताएका छन् ।
यादवले धरानमा ‘माँ भगवती फार्मेसी’ पनि सञ्चालन गर्दै आएका थिए । गुणस्तरहीन सेनिटाइजर उत्पादन गरी आफ्नै फार्मेसी र अन्य विभिन्न ठाउँबाट बिक्री वितरण गर्दै आएको खुलेको छ । यादवको उद्योगले उत्पादन गरेको सेनिटाइजर आफ्नै फार्मेसीबाट बढी बिक्री गर्ने गरेको विभागले जनाएको छ । ‘मापदण्ड विपरीतको सेनिटाइजर उत्पादन गरेको पाइएपछि माँ भगवती फार्मेसी बन्द गरी बिक्री वितरणमा राखिएको सेनिटाइजर बरामद गरी ल्याएका छौं’ औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख शर्माले भने, ‘उत्पादन गरी बजारमा पठाएका अन्य सेनिटाइजर पनि बरामद गरी नष्ट गर्नेछौं ।’ मिथानोल प्रयोग गरेको सेनिटाइजरले स्वास्थ्यमा असर गर्ने विभागले जनाएको छ । विषाक्त पदार्थ मिसाउने उद्योगलाई औषधि ऐन, उपभोक्ता हित संरक्षण ऐन र जनस्वास्थ्य ऐनअन्तर्गत क्षतिपूर्ति सहितको जरिबाना गर्नुका साथै उद्योग बन्द गर्ने तयारी गरेको विभागले जनाएको छ ।
सो उद्योगले १ सय एमएल र एक मिलटरसम्मको सेनिटाइजर बनाएर बजारमा पठाउने गरेको थियो । बजारमा पठाएको मापदण्ड विपरीतका सेनिटाइजर जफत गरेर नष्ट गर्ने तयारी गरेको औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काले बताए । विभागले तोकेको मापदण्डमा सेनिटाइजरमा इथानोल बाहेकका अन्य रसायन प्रयोग गर्न पाइँदैन । ‘७० देखि ८० प्रतिशत इथानोल हालेर सेनिटाइजर बनाउनुपर्ने हो’ फार्मेसी निरीक्षक खड्काले भने, ‘सीता हर्बल केमिकल उद्योगले उत्पादन गरेको सेनिटाइजरमा ‘मिथानोल स्प्रिट’ मात्र बढी देखिएको छ । जसले छालामा असर गर्दछ ।’ बरामद गरेको सेनिटाइजर परीक्षणको लागि राष्ट्रिय औषधि प्रयोगशालामा पठाएको उनले जानकारी दिए ।
के छ मापदण्ड ?
प्रायः एक सय एमएलको सेनिटाइजरमा ८० एमएल इथानोल र बाँकी २० एमएलमा पानी, हाइड्रोजन पेरोक्साइड र ग्लिसिरोल हुन्छ । हाइड्रोजन पेरोक्साइड सेनिटाइजरमा ब्याक्टेरियाको कण्टामिनेसन नहोस् भनेर प्रयोग गरिन्छ भने ग्लिसिरोलले मोस्चराइजरका रूपमा काम गर्छ । यी कम्पाउण्डको प्रयोगलाई अनिवार्य गरिएको छ । सेनिटाइजर तयार गरेपछि उद्योगले पुनः यसको गुणस्तर परीक्षण गरेर मात्रै बजारमा लैजान पाइने मापदण्डमा छ । यसमा उपयुक्त लेवल र ढुवानी गर्दाको मापदण्डलाई पनि अनिवार्य गरिएको छ । सेनिटाइजर कुनै पनि किसिमका हानिकारक तथा सूक्ष्म जीवको गतिविधि नदेखिने किसिमको हुनुपर्ने, गन्धमा ख्याल गर्नुपर्ने र यो तरल वा जेल अवस्थामा मात्रै उत्पादन गर्न पाइने नियम रहेको औषधि व्यवस्था विभागले जनाएको छ ।