धनकुटा/ कोशी लोकमार्ग अन्तर्गत धनकुटाको रुद्रबारी–गुठीटार सडक–खण्डको खुरिलामा सडक भासिने क्रम जारी रहेका कारण सडक अवरुद्ध हुँदा सयौं सवारी जाममा परेका छन् ।

खुरिलामा नियमित रूपमा पहिरो झर्दा यात्रुहरूले सास्ती खेप्दै आइरहेका छन् । एक सातादेखिको अविरल वर्षाका कारण पुनः सडक भासिनुको साथै पहिरो झर्न थालेपछि यात्रुले सास्ती व्यहोर्नु परेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काका अनुसार पानी पर्न थालेपछि सडक जाम हुने गरेको छ ।

करिब २ महिनादेखि पहिरो झर्न थालेको हो । शनिबार राति यात्रु आवत–जावत गर्ने क्रममा धरानबाट धनकुटा आइरहेको को. १६ प २०५६ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–००१ ख ८१२९ नम्बरको मालवाहक ट्रक पछाडि सर्दा ठक्कर दिएको ट्राफिक प्रहरी प्रमुख खड्काले बताए । चालक सकुशल रहे पनि मोटरसाइकलमा क्षति पुगेको छ । ट्रक एक्कासि चिप्लिएर पछि सरेपछि चालक मोटरसाइकल छोडेर भागी ज्यान बचाएको ट्राफिक प्रहरीले जनाएको छ ।

डिभिजन सडक कार्यालय धनकुटाका प्रमुख दानकुमार शाक्यले सडक जति मर्मत गरे पनि निरन्तर रूपमा भासिइरहेकाले यात्रा गर्न जोखिम कायमै रहेको बताए । अहिले सडक २ स्टेप बनाएर सडक भासिएको स्थानमा यातायात सञ्चालन गरिरहेको प्रमुख शाक्यले जानकारी दिए ।

सडक माथिबाट पहिरो झर्ने क्रम नरोकिएको र तलबाट पनि बग्ने क्रम नरोकिएकोले २ स्टेपमध्ये एक स्टेप बगेर गएपछि सडक ठीक लेभलमा आउने शाक्यले बताएका छन् । पानी परिरहेकाले सडकमा बढी मात्रामा हिलो भएको कारण सडक बढी जाम भएको शाक्यको भनाइ थियो ।

आइतबार बिहान धनकुटा–६ आत्माराबाट मलामी गएका दर्जनौं मोटरसाइकल, लास बोकेको गाडी पनि करिब डेढ घण्टाभन्दा बढी जाममा फसेको थियो । सडक विभागले भासिएको सडकलाई भित्ता कोट्याएर हाल सडक दुई स्टेपमा निर्माण गरी दुईतर्फी सवारी साधन आवत–जावत सहज बनाएको जनाएको छ । तर, हिलाम्मे सडकमा सवारी साधन घण्टौंसम्म फस्दा सडक जाम हुने गरेको छ ।