भण्टाबारी/ कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीलाई ज्यान मार्ने धम्की दिने एकजना भारतीय ठेकेदार पक्राउ परेका छन् ।
शुक्रबार राति अन्सारीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा सुनसरी प्रहरीले भारतीय ठेकेदार बब्लु भगतलाई पक्राउ परेको हो । कोशी गाउँपालिकाका अध्यक्ष अन्सारीले रातको समयमा फोनबाट ज्यान मार्ने धम्की आएको बताउँदै त्यस्तो धम्की आएपछि आफूले तत्काल प्रहरीलाई खबर गरेपछि धम्की दिने ठेकेदारलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।
उक्त ठेकेदारसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताउँदै अध्यक्ष अन्सारीले ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग गरेका छन् । अध्यक्षलाई ज्यान मार्ने धम्की आएपछि कोशी गाउँपालिका क्षेत्रका सर्वसाधारणले राति राजमार्ग अवरुद्धसमेत गरेका थिए । प्रहरीले आफ्नो काम गरिरहेको हुँदा कोरोना महामारीको समयमा अनावश्यक भीड नगर्न अध्यक्ष अन्सारीले सर्वसाधारणमा आग्रह गरेका छन् ।
सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीलाई शुक्रबार राति भारतीय ठेकेदार भगतले ज्यान मार्ने धम्की दिएको भन्ने खबर आएकोले उनलाई कोशी गाउँपालिका–८ स्थित भण्टाबारीबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जानकारी दिए ।
निर्धक्क भएर काम गर्ने माहोल भएनः अध्यक्ष
कोशी गाउँपालिकाका अध्यक्ष अन्सारीले प्रेस विज्ञप्ति जारी गर्दै निर्धक्क भएर काम गर्ने माहोल नभएको जनाएका छन् ।
शुक्रबार राति फोनमार्फत् एकजना भारतीय ठेकेदारबाट अध्यक्ष अन्सारीलाई आएको ज्यान मार्ने धम्कीका सम्बन्धमा कोशी गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष अन्सारीलाई ज्यान मार्ने धम्की आउनु ज्यादै निन्दनीय र भत्र्सनायोग्य कुरा भएको गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । भारतसँग खुला सीमा भएका कारण कोशी गापालाई संवेदनशील क्षेत्र मानिन्छ । सक्रियताका साथ कोरोना महामारी रोकथाम तथा नियन्त्रणका निम्ति अध्यक्ष अन्सारीको नेतृत्वमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधिको संयुक्त टोलीले काम गरिरहेका समयमा ज्यान मार्ने धम्की आएको उक्त विज्ञप्तिमा उल्लेख छ ।
कोशी गाउँपालिकाका अध्यक्षलाई भारतीय ठेकेदार भगतबाट आएको ज्यान मार्ने धम्कीले स्तब्ध र दुःखी भएको विज्ञप्तिमा भनिएको छ । केही समयअगाडि समेत कोशी गाउँपालिका वडानम्बर ८ स्थित भण्टाबारीमा भारतीय ठेकेदार भगतका कारण समाजको शान्तिसुरक्षामा खलल पुगेको गुनासो आएको थियो । व्यापक जनगुनासो आएपछि जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय सुरक्षाकर्मीसमेतको उपस्थितिमा बसेको बैठकले समाजमा शान्तिसुरक्षा कायम बनाई राख्न भारतीय ठेकेदार भगतलाई कोशी गाउँपालिका–८ भण्टाबारीमा ‘होल्ड’ गर्न नदिने भन्ने निर्णय गरिएको बताइएको छ । ठेकेदार भगत कोशी प्रोजेक्ट अन्तर्गतका ठेकेदार हुन् ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल–भारतबीच रहेको खुला सीमा नाका सिल गरिए पनि उक्त प्रोजेक्ट अन्तर्गत काम गर्ने ठेकेदारहरू दिनहुुँ सहजरूपमा आवत–जावत गर्दै आएका छन् । नियमितरूपमा नेपाल आउने ठेकेदार भगतले स्थानीय युवालाई आफ्नो प्रभावमा पारी मदिरा सेवन गराई सार्वजनिक रूपमा हो–हल्ला गर्दै सामाजिक एकता तोड्ने प्रयास गरेको भन्दै उनलाई भण्टाबारी ‘होल्ड’ गर्न नदिने गरी कोशी गाउँपालिका–८ भण्टाबारीका स्थानीयवासीले निर्णय गरेका थिए । तर, सो बारे यथार्थ नबुझी सामाजिक सञ्जालमा गलत अर्थ लगाउने हिसाबले गरिएको प्रचारबाजी सरासर गलत भएको कोशी गाउँपालिकाले जनाएको छ ।
कोशी गाउँपालिकाका अध्यक्ष अन्सारीलाई ज्यान मार्ने धम्की दिने प्रहरी नियन्त्रणमा रहेका भारतीय ठेकेदार भगतलाई कडा कारबाहीको लागि कोशी गाउँपालिकाले माग गरेको छ । साथै भयरहित, शान्त वातावरणमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारीलगायत लाई काम गर्ने माहोल बनाई समाजमा शान्तिसुरक्षा मजबुत बनाउन प्रहरी प्रशासन समक्ष गाउँपालिकाले विज्ञप्तिमार्फत् आग्रह गरेको छ । यता जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले कोशी गाउँपालिकाका अध्यक्षलाई ज्यान मार्ने धम्की दिने भारतीय ठेकेदारलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको र अनुसन्धानपछि मुद्दा दर्ता गरिने बताए ।