इनरुवा/एकसाथ ३८ जनामा कोरोना देखिएको विषयमा कन्ट्याक्ट ट्रेसिङ (सम्पर्क स्रोत) पत्ता लगाउने क्रममा ‘कृष्णजन्माष्टमीमा लगाइएको कीर्तन’ रहेको स्वास्थ्य अधिकारीहरूले दाबी गरेका छन् ।
इनरुवा–५ बलाहामा एकसाथ ३८ जना कोरोना सङ्क्रमित देखिएपछि सम्पर्क स्रोत खोजी गर्ने क्रममा स्वास्थ्यकर्मीले यस्तो रहस्य बाहिर ल्याएका छन् । इनरुवामा यो सङ्ख्यामा पहिलो पटक सङ्क्रमित देखिएको हो । जसका कारण जिल्ला प्रशासन कार्यालयले बलाहा क्षेत्र सिल गर्नुपरेको थियो । इनरुवामा सङ्क्रमितको सङ्ख्या १ सय २१ पुग्दा बलाहा क्षेत्रमा मात्रै ६२ जना सङ्क्रमित रहेका छन् ।
बलाहामा समुदायमा सङ्क्रमण फैलनुपूर्व सुनसरीको औरावनीको सीजी फुड्स प्रालिमा कार्यरत डेरा गरी बस्ने दुई व्यक्तिलाई सम्भावित आशङ्का गरिएको थियो । यद्यपि उक्त आधार पर्याप्त नरहेको स्वास्थ्य शाखा इनरुवाका स्वास्थ्य अधिकृत सन्तोष देवले बताए । उनका अनुसार कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा सङ्क्रमित कर्मचारीको परिवार र नजिकका ५ जनामा मात्रै कोरोना देखिएको थियो ।
कर्मचारीलाई मात्रै कोरोनाको स्रोत मान्न नसकिने बताउने स्वास्थ्य शाखा इनरुवामा एकसाथ धेरै सङ्ख्यामा सङ्क्रमण फैलिनुका पछाडि कीर्तन नै रहेको दाबी गरिरहेका छन् । उसका अनुसार श्रीकृष्ण जन्माष्टमीका दिन कोही एक व्यक्तिको घरमा कीर्तन लगाइएको थियो । जहाँ धेरै सङ्ख्यामा स्थानीय उपस्थित रहेका थिए । कीर्तन आयोजक परिवारका सदस्यमा कोरोना देखिएपछि सम्पर्क स्रोत पहिचान गर्दै जाँदा सहभागी र तिनका परिवारका सदस्यमा कोरोना देखिएको थियो ।
सम्पर्क स्रोत पहिचान गर्दै आएकी स्वास्थ्य कार्यालय सुनसरीकी स्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले सोधखोजका क्रममा कीर्तन आयोजना गर्ने परिवारका व्यक्ति केही दिनअघि उदयपुर पुगेर आफ्ना सङ्क्रमित छोरीज्वाइँलाई भेटेर आएका थिए । सोही माध्यमबाट कोरोना फैलिएको हुन सक्ने उनले अनुमान लगाइन् ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार स्थानीयमा सङ्क्रमण देखिँदासमेत पर्याप्त सावधानी नअपनाइँदा थप व्यक्ति सङ्क्रमित हुन पुगेका हुन् । नगरपालिकामा रही कन्ट्याक्ट ट्रेसिङको काम गर्दै आएका स्वास्थ्य अधिकृत मिश्रीलाल मेहताले पनि कीर्तन नै समुदायमा कोरोना फैलिने मुख्य कारण रहेको दाबी गरे । एकसाथ धेरै सङ्क्रमित देखिनु र सङ्क्रमित व्यक्तिहरू कीर्तनसँग जोडिनु नै मुख्य कडी भएको उनी बताउँछन् ।
यद्यपि यस विषयमा थप अनुसन्धान भइरहेको स्वास्थ्य प्रमुखहरू बताउँछन् । वडाध्यक्ष अञ्जनीकुमार पोखरेलले समेत कीर्तन नै कोरोना फैलिने आधार भएको दाबी गर्छन् । स्थानीयका अनुसार सोह्र श्राद्धको अघिल्लो दिन टोलमा खसी काटिएको थियो र मासु किनेर निकै परिवारले खाएका थिए । उक्त कारण पनि रहेको अनुमान गरिएको छ ।
मालपोत, अदालत, जिल्ला प्रशासन कार्यालयमा लेखापढी गर्नेहरू सङ्क्रमित देखिएकाले कोरोनाको स्रोत त्यतातर्फ समेत हुनसक्ने उनीहरूको अनुमान छ । इनरुवा नगरपालिकाले हरेक वडाको समुदायस्तरमा कोरोना परीक्षण गरिरहेको छ । इनरुवा स्वास्थ्य शाखाका अनुसार भदौ २४ गतेसम्म नगरभित्र २ हजार ४१ जनाको स्वाब सङ्कलन गरिएको छ ।
जसमध्ये ८२ जनाको मात्र रिपोर्ट आउन बाँकी छ । प्रहरीका ४ र भोक्राहाका १ गरी इनरुवाबाट स्वाब लिइएका १ सय २१ जना पोजेटिभमध्ये अहिले सम्म ३७ जना निको भएका छन् । इनरुवामा सङ्क्रमित हुनेमा पुरुषको सङ्ख्या ८१ छ भने महिलाको सङ्ख्याको ४१ रहेको स्वास्थ्य शाखा इनरुवाले जनाएको छ ।