धरान/धरान–२० भालढुङ्गा सामुदायिक वनमा काँचो सखुवाको रुख काट्ने चार जनालाई सव–डिभिजन वन कार्यालय विष्णुपादुकाले पक्राउ गरेको छ ।
भदौ १३ गते शनिबारका दिन धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको निर्देशनमा समूहका कोषाध्यक्ष भीम बस्नेतको रोहवरमा रुख काटिएको आरोप लाग्दै आएको छ । रुख काट्नमा संलग्न रहेका धरान–८ का शेरबहादुर तामाङ, धरान–१९ का गजेन्द्र लिम्बू, रामबहादुर तामाङ र रामप्रसाद मगरलाई पक्राउ गरिएको सव– डिभिजन वन कार्यालयका प्रमुख तथा अनुसन्धान अधिकृत राजेन्द्रप्रसाद यादवले जानकारी दिए । उनीहरूलाई वन ऐनअनुसार कारबाही अगाडि बढिरहेको बताए ।
समूहका अध्यक्ष बुद्धिमान तामाङले गत भदौ १८ गते किटानी जाहेरी दिएका थिए । विद्युतीय आरा प्रयोग गरी सालको रुख काटेर १२ थान टुना निकासी गर्ने अवस्थामा बरामद गरिएको र उनीहरूले आफूहरूले ज्यालामजदुरी मात्र गरेको भन्ने अभिव्यक्ति दिएको उजुरी पत्रमा उल्लेख गरिएको छ । साथै उनीहरूलाई मेयरको स्कार्पियो गाडीमा आरासमेत राखेर भालढुङ्गा लगेको पनि पत्रमा उल्लेख छ । अध्यक्ष तामाङले वन ऐन २०७६ र प्रचलित कानून प्रतिकूल कसुर अपराध भएको हुँदा अभियुक्तहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही तथा सजाय गर्न पनि माग गरेका थिए ।
सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान तामाङले समूहको लेटरप्याडमा चार जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । उनले भदौ १४ गते सोमबार चलानीबिनाको लेटरप्याडमा नगर प्रमुख राईविरुद्ध पनि जाहेरी दिएका थिए । उनले भदौ २१ गते सव–डिभिजन वन कार्यालयलाई पठाएको लिखित प्रत्युत्तरमा पनि नगर प्रमुख राईको निर्देशनमा कोषाध्यक्ष भीम बस्नेतको रोहवरमा काटिएको सत्य भएको उल्लेख गरेका थिए । समूहका ८ जना पदाधिकारीहरूले भने कसले, कसको निर्देशनमा काटिएको हो भन्ने नखुलेको प्रत्युत्तर दिए पनि अध्यक्ष तामाङले स्पष्टसँग किटानका साथ प्रत्युत्तर पठाएका थिए ।
नगर प्रमुख राईले भदौ ११ गते आमा मनु राईको नाममा काठ माग गर्दै निवेदन दिएका थिए । निवेदनको आधारमा शुक्रबार समूहले छलफल गर्दै काठ दिनका लागि वनमा हेर्ने भनेर भनिए पनि शनिबार नै नगर प्रमुख राईको निर्देशनमा काठ काटिएपछि समस्या सुरु भएको थियो । सामुदायिक वनको काठ–दाउरा सङ्कलन तथा बिक्रीवितरण निर्देशिका २०७१ को परिच्छेद २ को वन पैदावारको माग सङ्कलन र लगत तयारीको दफा ४ को (१) मा स्पष्टसँग उपभोक्ता समूहले काठ–दाउराका लागि वनमा कटान, मुछानको कार्य प्रत्येक वर्षको कात्तिक १ गतेदेखि जेठ १५ गतेसम्म गरिसक्नुपर्ने उल्लेख छ । जसमा उपभोक्ताले १५ क्युविक फिटभन्दा बढी काठ नपाउने प्रावधान छ । त्योभन्दा माथि काठ लिनुपरेमा समूहले ठेक्का आह्वान गरेपछि बढाबढ गरेर लिलामीको आधारमा मात्रै लिन पाउने प्रावधान छ ।
यता नगर प्रमुख राईले आफ्नो चरित्र हत्या गर्ने हिसाबले घटनालाई उछालिएको भन्दै धरान उपमहानगरपालिकाको लेटरप्याड प्रयोग गरेर भदौ १६ गते विज्ञप्ति प्रकाशित गरेका थिए । सोही दिन नगर प्रमुख बोलेको श्रव्य सामग्री सार्वजनिक भएको थियो । उक्त श्रव्य सामग्रीमा स्पष्टसँग नगर प्रमुख राईले वनमा धेरैतिर काठ खोजेको भए पनि पोचापोचीमात्रै भेटिएको उल्लेख गरेका छन् । नेकपा निकटको राष्ट्रिय युवा सङ्घले पनि सत्य–तथ्य छानबिन गर्दै दोषीलाई कारबाही गर्न भन्दै अनुसन्धान अधिकृत यादवलाई ज्ञापन–पत्र बुझाएका थिए ।
अध्यक्ष तामाङले ६ जनाको नाममा जाहेरी दिएको भए पनि ४ जना मात्रै पक्राउ गरिनुमा आशङ्का व्यक्त गरे । उनले भने, ‘कटानमा संलग्न चारसहित नगर प्रमुख राई र कोषाध्यक्ष बस्नेतको नाममा किटानी जाहेरी दिएको थिएँ ।’ उनले अहिले नगर प्रमुख राई र कोषाध्यक्ष बस्नेतलाई जोगाउने चलखेल भइरहेको समेत बताए ।