इटहरी / कोरोना महामारीका बीच बजार खुलेसँगै भीडभाड बढे पनि अनुगमन अभावमा व्यापारीहरूले मनपरी मूल्य राखेर सामान बिक्री गरिरहेको पाइएको छ ।
ग्रामीण क्षेत्रबाट किनमेलका लागि सेवाग्राही आउन थालेपछि भीडभाड बढेको हो ।

सेवाग्राहीहरू पुनः लकडाउन होला कि भन्दै किनमेल गर्न थालेका हुन् । नजिकिँदै गरेको चाडबाडलाई लक्षित गर्दै ग्रामीण क्षेत्रका सेवाग्राहीहरू इटहरी बजार आउन थालेका हुन् । सेवाग्राहीको चहल–पहल सुरु भएसँगै व्यापारीहरूले ठगी गर्न थालेको गुनासो बढेको छ ।

अधिकांश पसलहरूमा मूल्यसूचीसमेत नराखी आफूखुसी सामग्री बिक्री वितरण गरिरहेका छन् । बुधबार इटहरीमा खाद्य सामग्री किन्न इटहरी–७ गैसारबाट इटहरी चोक आएका केशव खनालले बजारमा मनलाग्दी मूल्य तोकिएको आरोप लगाए । ब्लाष्टकर्मी बजारमा घुम्दा खुद्रा पसलदेखि होलसेल पसलसम्म मूल्यसूची भेटिएको थिएन ।

धेरैजसो व्यापारीले खाद्य तथा दैनिकरूपमा चाहिने अन्य सामानको भाउ पनि उल्लेख्य रूपमा वृद्धि गरेका छन् । लकडाउन र निषेधाज्ञाको बहानामा अहिले बजारमा सबै दैनिक उपभोग्य सामानहरूको मूल्य मनपरी तोकिएको इटहरी–६ का स्थानीय देव राई बताउँछन् । इटहरी चोक आसपासमा मासुसँगै खाद्यान्नको मूल्य मनपरी भइरहेको भन्दै तत्काल बजार अनुमगन गर्नुपर्ने इटहरी–९ का अस्पताल टोल विकास समितिका अध्यक्ष विजय केसीले बताए । कोरोनाको त्रास भएको बेला अनुगमन नहुँदा उपभोक्ताहरू ठगिएको उनी बताउँछन् ।

इटहरी उपहानगरपालिकाको २० नम्बर वडाका वडाध्यक्ष मणिराम श्रेष्ठले बजार अनुगमनलाई निरन्तरता दिँदै जाने बताए । इटहरीका अधिकांश वडामा अनुगमन नभएको स्वीकार गर्दै श्रेष्ठले उपमहानगरपालिकासँग समन्वय गरेर बजार अनुमगनलाई निरन्तरता दिने बताए ।

हामी आफै अनुगमन गर्दैछौं : उवासङ्घ
अहिले स्थानीय सरकारले बजार अनुगमन नगरेको भन्दै उद्योग वाणिज्य सङ्घ इटहरी आफैले बजार अनुगमन सुरु गरेको छ । बजारमा कालोबजारी हुन सक्ने भन्दै उद्योग वाणिज्य सङ्घ इटहरीले बजार अनगुमन आफै सुरु गरेको जनाएको छ ।

दैनिक उपभोग्य सामानको अभाव हुन नदिन र कालोबजारी नगर्न उद्योग वाणिज्य सङ्घ इटहरीले व्यापारीहरूलाई चेतावनी समेत दिँदै आएको छ । उवासङ्घ इटहरीका महासचिव पिताम्बर पोखरेलले आफूहरू दैनिक बजार अनुगमनमा निस्किएको बताए ।

अहिले स्थानीय सरकारले अनुमगन नगरेपछि बजारमा हुन सक्ने कालोबजारीलाई मध्यनजर गर्दै बजार अनुगमन थालिएको उनले बताए । व्यापारीहरूलाई पसलमा अनिवार्य मूल्यसूची राख्न, पसलअगाडि फुटपाथ नराख्नसमेत भनिएको छ । अहिले फुटपाथको व्यापार बढेको भन्दै कोरोनाको महामारीलाई देखाएर कालोबजारी नगर्न उद्योग वाणिज्य सङ्घ आफैले व्यापारीहरूलाई चेतावनी दिएको छ ।