विराटनगर / विराटनगर – ६ सरौचिया घर भएकी ७७ वर्षिय सुमित्रादेवी गोढी (सहनी) लाई श्वासप्रश्वासमा समस्या आएपछि विराटनगरका अधिकांश अस्पतालले भर्ना नलिएपछि हस्पिटल चौकस्थित एम्स अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) मा शनिबार राती भर्ना गरियो ।
विरामीको स्वास्थ्य अवस्था बुझेपछि पीसिआर परीक्षण गरेपछि मात्र भेण्टिलेटरमा राखेर उपचार गर्ने जानकारी गराए । पीसीआर परीक्षणको लागि परिवारले हारगुहार गर्यो । तर, कतै सुनवाइ हुन सकेन । सुमित्रादेवीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गयो ।
अन्त्यमा सुमित्रादेवीको एम्स अस्पतालले आकस्मिक कक्षमा आइतबार बिहान ६ बजे मृत्यु भयो । बेलैमै अस्पतालले सघन उपचार कक्ष (आइसीयू) राखेर विरामीको उपचार गरेको भए हजूरआमाको अकालमा ज्यान जानुपर्ने अवस्था नहुने नाती सुरजकुमार गोढीले बताए । कोरोनाको त्रासको कारण अस्पतालले बेलैमा उपचार नगर्दा हजुरआमाको ज्यान गएको उनको भनाई छ । ‘कोरोनाको कुनै पनि लक्षण देखिएको थिइन्,’ उनले भने, ‘अस्पतालले पिसिआर परीक्षण रिपोट बेगार भेन्टिलेरमा नराख्ने अडान लियो । समयमा उपचार नपाउँदा हजूरआमाको ज्यान गयो ।’
श्वासप्रश्वासमा समस्या भएका हजुरआमालाई अस्पतालको भेन्टिलेरमा राखेर उपचार गरेको भए ज्यान बच्ने उनले बताए । पीसीआर रिपोर्ट नभएको भन्दै अस्पतालका चिकित्सकहरूले उपचारै नगरी आलटाल गरेको उनको आरोप छ । ‘अस्पताल भर्ना गरिएको विरामीलाई रातभरी आकस्मिक कक्ष राखियो,’ उनले भने, ‘हामीले धेरैपटक डाक्टरसाबहरूलाई भेन्टिलेटरमा राखेर हजूरआमाको उपचार गरिदिन अनुनय–विनय ग¥यौं । तर हाम्रो कुराको कुनै सुनवाइ भए । समयमै उपचार सुरु गरिएको भए हजूराआमाको मृत्युवरण गर्नु पर्थेन होला ।’
पीसीआर रिपोर्ट नभई अन्य अस्पतालले उपचार प्रक्रिया अगाडी नबढाउने चिकित्सक र प्रशासनको चरम लापरबाहीले विरामीको मृत्यु भएको उनीहरुको भनाई छ ।
मृत्युपछि समयमै उपचार नगरिएका कारण हजुरआमाको मृत्यु भएको भन्दै अस्पताललाई कारबाहीको माग राखेका छन् । उनीहरूले अस्पताल विरुद्ध प्रशानमा उजुरी दिएर घटनाको छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।
यता एम्स अस्पतालका प्रशासन प्रमुख अजय यादवले रातीको समयमा विरामीको स्वास्थ्य अवस्था गम्भिर रहेकोले हामीले रेफर गरेको भएपनि उनीहरूले आफनै रिक्सले राखेको बताए । ‘रेफर गर्दा पनि नलेपछि हामीले आकस्मिक कक्षमा राखेर मेडिकल अफिसियर चकित्सकले उपचार गरेको थियो । उपचारको क्रममा मृत्यु हुन पुग्यो,’ उनले भने ।
यसअघि पनि विराटनगरमा दिर्घरोगी र अन्य रोग लागेका बिरामीले समेत समयमा उपचार नपाएर मृत्युवरण गर्नुपरेका घटना भइसकेका छन् ।