राजेश विद्रोही / साउदी अरब

भेण्टिलेटरमा श्वास लिइरहँदा जीवनको अन्त यही रहेछ भन्ने लागिरह्यो । नौ दिनसम्म भेण्टिलेटरमा रहँदा अचेत अवस्थामा जस्तै थिएँ । 

फेरि जीवन फर्किइएला भन्ने सोच कमै पलाउँथ्यो । मसँगै भेण्टिलेटरमा रहेका अर्का कोरोना सङ्क्रमित फर्किएनन् । झन् मृत्युलाई नजिकबाट देखेँ । हरेक पटक खोक्दा मुखबाट रगत आउँथ्यो । खरर्र दगुराउँदै एक्स–रे मेसिन ल्याउँथे । एक्स–रे गर्थे र हेर्थे । फेरि डाक्टरलाई तुरुन्त फोन गरेर बोलाउँथे । डाक्टर पनि ढक्क फुल्थे । नेपालमा भएको भए सायदै कोरोना सङ्क्रमणसँग जुध्न सक्थेँ हुँला ।

तर, नौ दिनको प्रयासपछि डाक्टर, नर्सहरूले मेरो जीवन बचाई छाडे । अनि त्यसबेला लाग्यो, भगवान् भनेका त डाक्टर र नर्स नै रहेछन् । धन्य भगवान्, मलाई मृत्युको मुखबाट फर्काइदियौ । यही कल्पना गरेँ । ताप्लेजुङको सिनामबाट करिब पाँच वर्षअघि म साउदी पुगेको थिएँ, रोजगारीको सिलसिलामा । रोजगार ठीकठाक नै चल्दै थियो । तर, एक्कासि कोरोना सङ्क्रमण भएको पुष्टि भयो । उच्च ज्वरो र खोकी चलिरह्यो ।

त्यसपछि कम्पनीले तत्काल अस्पताल भर्ना ग¥यो । त्यो अस्पतालमा उपचार सम्भव नभएपछि अर्को अस्पताल लगियो । जहाँ अधिकांश कोरोना रोगीको उपचार हुन्थ्यो । कयौं मानिस आइसियु हुँदै भेण्टिलेटरमा पुग्थे । कति फर्किन्थे । कति भेण्टिलेटरमै अन्तिम श्वास फेर्थे । र, सेतो लुगा लगाएर आएकाहरूले शवलाई व्यवस्थापन गर्थे । कोरोना सङ्क्रमितको उपचारमा २४ सै घण्टा नर्सहरू खटिएका हुन्थे । मलाई दुई जना नर्सले २४ सै घण्टा निगरानी गरे । हरेक पटक खोक्दा, रगत आउँदा उनीहरूले एक्स–रे मेसिन ल्याइपु¥याउँथे र एक्स–रे गर्थे । यो भेण्टिलेटरमा छिरेपछि त मिनेट–मिनेटमै भइरहन्थ्यो ।

धेरैले कोरोनालाई सामान्य ठानेको सुनेको छु । तर, यो सामान्य छँदैछैन । यसको रूप एकदमै डरलाग्दो छ । जहाँबाट म गुज्रिएर आएँ, त्यसको पीडा मलाईभन्दा अरू कसैलाई थाहा छैन । धेरै मान्छे मैले मेरै अगाडि मृत्युको मुखमा पुगेको देखेको छु । त्यो असह्य पीडाबाट कोही पनि नगुज्रिनुहोला । कोरोनालाई कसैले पनि सामान्य नठान्नुहोला ।
–कुराकानीमा आधारित