धरान । धरान २० स्थित भालढुंगा सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा गत शनिवार काँचो सखुवाको रूख काटिएको घट्नाका विषयमा वन उपभोक्ता समुहले आइतबार साँझ सव डिभिजन वन कार्यालय धरानलाई घटनाबारे जानकारी बुझाएको छ ।
तीन दिनभित्र यथार्थ विवरणसहित काठ काटिएको विषयमा जानकारी गराउन वन कार्यालयले समुहलाई पत्र लेखेको थियो । आइतबार अन्तिम दिन समुहले लिखित जवाफ पेस गरेको हो ।
सो घट्नामा धरान उपमहानगरपालिकाका मेयर तिलक राई मुछिए पछि कार्यसमितिका पदाधिकारीहरुसमेत विभाजित हुदा विहीबारदेखि समितिको बैठक बस्न सकेको थिएन ।
समितिमा जवाफ लेख्ने विषयमा सहमति नभए पछि फरक मतसहित पत्र बुझाइएको छ । समितिका कोषाध्यक्ष भीम बस्नेत, उपाध्यक्ष चन्द्रकला मगर, सचिव रीता राई, सहसचिव भुवनसिंह राई र सदस्य आइती माया राईले समुहले नकाटेको मेयरको संलग्नता पनि नभएको भनेर राय जवाफ पठाएका छन् ।
यता अध्यक्ष बुद्धिमान तामाङले भने उनीहरुको जवाफमा आपत्ति जनाउदैं कोषाध्क्षको संलग्नतामा मेयरको उपस्थितिमा रुख काटिएको वन समुहलाई कुनै जानकारी नगराएको उल्लेख गरेका छन् ।
शनिवार रुख काटिसके पछि विवाद हुदा मेयर राई आफुसँग आई गल्ती गरेको भनि माफी माग्नसमेत गएको कुरा उल्लेख गरेका छन् । अध्यक्षसँग पुगेको अडियो रेकर्डसमेत बाहिरिएको थियो । अन्य तीन जना सदस्यहरु शान्ति कट्वाल, दिवस राई र भीम परियारले भने तटस्थ जवाफ पठाएका छन् । कस्ले काटेको थाहा नभएको मेयरको उपस्थितिमा काटिएको भन्नेकुरा मिडियामा आए पछि थाहा पाएको भनेर जवाफ दिएका छन् ।
स्थानीयका अनुसार शनिबार मेयर राईले स्कारपियोमा हालेर आरा काट्ने ४ जना युवालाई धरानदेखि लिएर गई काँचो रुख ढालेको सोही दिन साँझ उपभोक्ताहरुले थाहा पाएर सार्वजनिक गरेका थिए ।
काठै काठको घर बनाउने योजनामा आफु रुख काट्न पुगेको विषयमा बोलेको उनको अडियोसमेत सार्वजनिक भए पछि मेयर राई अप्ठ्यारो परिरहेको थियो । वन पदाधिकारीलाई पनि जोगाउने र आफु पनि जोगिने गरि मिलाउनलाई मेयर राई र उनको पार्टी नेपाली काङ्ग्रेसको नगर तथा जिल्ला कमिटी लागेको श्रोतले बताएको छ । मेयरका कारण उभोक्ता समितिसमेत दुई पक्षमा विभाजन भएका थिए ।
डिभिजन प्रमुुख एवं सहायक वन अधिकृत राजेन्द्रप्रसाद यादवले पत्र पठाउँदै विभिन्न ४ वटा प्रश्नको लिखित जवाफ पेस गर्न दुई दिन अघि वन समुहलाई पत्र काटेको थियो ।
वनले कस्को आदेशमा, कुन प्रयोजनको लागि, के कति कारणले काटिएको हो र समुहको संलग्नता के छ भनेर प्रश्न गरेको छ । समुहको स्वीकृत विधान कार्ययोजना र वन ऐन अनुसार उक्त काम भएको हो या होइन भनेर प्रश्न गरेको छ ।
यस्तै वनको पत्रमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशनमा समुहका कोषाध्यक्ष भीमबहादु र बस्नेतको रोहवरमा रुख काटेको हो वा होइन भन्ने प्रश्न गर्दै समितिलाई जानकारी भए, नभएको पनि जवाफ माग गरेको छ ।
रुख काटिएको भोली पल्ट आइतबार समुहका अध्यक्ष वुद्धिमान तामाङले मेयर राई र कोषाध्यष्क्षको संलग्नता भएको पत्र वनलाई दिए पनि समुहको संस्थागत पत्र नआएकोले पुन पत्र काटेर जवाफ मागेको सहायक वन अधिकृत यादवले जानकारी दिएका छन ।
घट्ना मिलाउन नेकपा नेतामा हार गुहार
वन उपभोक्ता समुहका अध्यक्ष बुद्धिमान तामाङले तस्करले रुख काटेको भनेर भन्न दबाब आएको बताउदैं आएका छन् । मेयर राईका निकट व्यक्तिहरुले मिलाउन चर्को दवाब दिएको अध्यक्ष तामाङको भनाई छ ।
‘मेयरको संलग्नतामा रुख काटिएको छ कसरी तस्करले काटेको भन्न सकिन्छ । सत्य कुरा मैले मिडियामा सार्वजनिक गरिसकेको छु । मेरो बोली फेरिदैंन । यस्ता अपराधमा कसैलाई जोगाउन सकिदैंन ।–अध्यक्ष तामाङले भने ।
तर मेयरलाई घट्नामा नमुछ्न र मिलाउन नेकपा निकटका नेताहरुमा भनसुनका लागि मेयर धाइरहेको नेकपाका एक प्रदेश स्तरीय नेताले बताए । ‘जोगाइ दिनु पर्यो भन्दैं मेयर तिलक राई ठूला नेताहरुको घर घर मै पुग्नु भए छ । उहाँले आफ्ना दुत पनि खटाउनु भएको रहेछ । मेयरलाई काँचा रुक काट्दा कसरी छुट गर्न सकिन्छ ।’– ती नेकपा नेताले भने ।
गत शनिवार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा उपमेयर मञ्जु भण्डारीलाई पठाएर जरुरी काम परेको भन्दैं शनिबार सालको रुख काट्न विष्णुपादुका पुगेका मेयर राइको निर्देशनमा रुखकाटिएको भन्ने कुरा बाहिरीए पछि विवादमा मेयर तानिएका थिए ।
यता मेयर राईले भने आफुले निर्देशन नदिएको, वन क्षेत्रमा नै नगएको र चरित्र हत्याको प्रयास भएको भन्दैं धरान उपमहानगरको लेटर हेडमा विज्ञप्ती जारी गरेका थिए ।
सो विज्ञप्ति बाहिरीए लगतै उनले घर बनाउन काठ माग गर्दै निवेदन दिएको, ढलापढा खोज्न कोषाध्यक्षसँगै वनमा गएकोलगायत कुराकानी भइरहेको अडियो रेकर्ड सार्वजनिक भएको थियो । सो अडियोले उनलाई अप्ड्योरामा पारेको छ ।
रुखकाट्ने ४ कामदार विरुद्ध पनि किटानी जाहेरी, वन कार्यालय कारबाही प्रक्रियामा अझै गएन
सालको रुख काटिएको घटनामा धरान २० भालढुंगा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तामाङले थप ४ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।
अध्यक्ष बुद्धिमान तामाङले बिहिबार ४ जनाको नाम किटानी गरेर पक्राउ गरि कानुन वमोजिम कारबाही गर्न सब डिभिजन वन कार्यालय विष्णुपादुकामा जाहेरी दिएका हुन ।
धरान ८ का शेरबहादुर तामाङ, धरान १९ का गजेन्द्र लिम्बु, रामबहादुर तामाङ र रामप्रसाद मगर विरुद्ध उजुरी परेको हो । विद्युतीय आरा प्रयोग गरि सालको रुख काटेर १२ थान टुना निकासी गर्ने अवस्थामा वरामद गरिएको र उनीहरुले आफुहरुले ज्याला मजदुरी मात्र गरेको भन्ने अभिव्यक्ति दिएको उजुरी पत्रमा उल्लेख गरेका छन् ।
साथै, उनीहरुलाई मेयरको स्कार्पियो गाडीमा आरा समेत राखेर भालढुंगा लगेको पनि पत्रमा उल्लेख गरिएको छ । अध्यक्ष तामाङले वन ऐन २०७६ र प्रचलित कानुन प्रतिकुल कसुर अपराध भएको हुँदा अभियुक्तहरुलाई पक्राउ गरि कानुन वमोजिम
कारबाही तथा सजाय गर्न पनि माग गरिएको छ । उनीहरुलाइै मेयर राईले शनिवार स्कारपियोमा राखेर विष्ण्ुापादुका लगेका थिए । सव डिभिजन वन कार्यालय धरानका सहायक वन अधिकृत राजेन्द्रप्रसाद यादवलले आराकाट्ने ४ जना र मेयरका विरुद्ध पनि उजुरी आएको बताए । वन समुहलाई सोधिएको प्रश्नको जवाफ पनि साँझ आएको यादवलेबताए ।
सोमबार अनुसन्धान अधिकृत तोकेर कारवाही प्रकृया अगाडी बढाइनेउनकोभनाई छ । ‘घट्नामा दोषी देखिने सबैलाई कारवाहीको दायरामा ल्याउछौं । हामीले घटनाको विषयमा प्रतिवेदन जिल्ला वन कार्यालय सुनसरीमा पठाइसकेका छौं । प्रमाणित भए मेयर पनि कारहवाीमा पर्नु हुन्छ ।’–अधिकृत यादवलेभने ।
गत शनिबार भालढुंगा वन समुहको ब्लक नम्बर ३ को ढुंगेपानी सिरान भन्ने ठाउँमा एउटा सालको रुख ढालेर १२ वटा टुना बनाएको अवस्थामा उपभोक्ताहरुले फेला पारेका थिए ।
उक्त रुख धरानका मेयर राईको निर्देशनमा वन समुहका कोषाध्यक्ष भीम बस्नेतसमेतको संलग्नतामा अवैधरुपमा काटिएको आरोप लागेको छ । वन समुहका अध्यक्ष तामाङले यसअघि नै मेयर राई र कोषाध्यक्षविरुद्ध वन कार्यालयमा उजुरी गरिसकेका छन् ।