धरान/ धरान–१४ स्थित युथ राईजिङ स्टार क्लवसँग आवद्ध युवाहरुले कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि फुड बैंक सञ्चालन गरेका छन् ।

चार दिनदेखि शुरु गरेको फुड बैंकबाट ७० जनाले राहत सामाग्री लगेका छन् । राहत प्याकेजमा २ केजी चामल, आधा केजी दाल, एक केजी नुन र एकपाउँ न्यूटेला व्यवस्था गरिएको क्लवका अध्यक्ष विकाश चाम्लिङ राईले जानकारी दिए ।

विजयपुर चोकमा राखिएको फुड बैकमा ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाओं’ भन्ने नारा लेखिएको छ । सहयोग गर्नेहरुको संख्या पनि बढ्दैं गएको अध्यक्ष राईले बताए । आजदेखि बेलुकाको समयमा बाढ्ने कार्यक्रम तय गरिएको छ । युवाहरुले यो महामारीका बेला राम्रो काम गरेको धरान–१४ का स्थानीय प्रेम पराजुलीले बताए ।