भण्टाबारी/ पक्की पुल बनेपछि सुनसरीको कोशी गाउँपालिका–८ स्थित भण्टाबारीका स्थानीय लाभान्वित भएका छन् । पुल नहुँदा आवत–जावतमा समस्या हुँदै आएकोमा पुल बनेपछि यहाँका स्थानीय लाभान्वित भएका हुन ।
कोशी गाउँपालिकाको १० लाख लागतमा निर्माण भएको उक्त पुलको एक कार्यक्रमका बीच कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले उद्घाटन गरेका छन् । पुल नहुँदा कोशी गाउँपालिका–८ भण्टाबारीका स्थानीयवासीलाई खेतीपातीका लागि आवत–जावतमा हुने समस्या अब अन्त्य भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष तजमुल मन्सुरीले बताए ।
पटक–पटक बाँसको पुल निर्माणका लागि बजेट विनियोजन गर्दै आएको बताउँदै गाउँपालिका अध्यक्ष अन्सारीले यसपटक १० लाख लागतमा पक्की पुल निर्माण गरी दीर्घकालीन समाधान खोजेको बताए । कोरोना भाइरसका कारण विकास निर्माण कार्य गर्न समस्या भएको बताउँदै उनले कोरोना कहरबाट सर्वसाधारणलाई बचाउँदै विकास निर्माण कार्य गर्दै आएको दाबी गरे ।
कतिपय स्थानीय तहहरूमा विकास निर्माणका निम्ति आएको बजेटमा अनियमितता भएको गुनासो बढिरहेको समाचार आइरहेको उल्लेख गर्दै अध्यक्ष अन्सारीले त्यस्तो कार्य कोशी गाउँपालिका क्षेत्रमा भएको पाइएको अवस्थामा आफूलाई खबर गर्दै गुणस्तरीय काम गर्न जनस्तरबाट खबरदारी गर्न आग्रह गरे । राम्रोलाई पुरस्कृत र भ्रष्टलाई दण्डित गर्ने योजनाअनुरूप आफूले काम गर्दै आएको उनको दाबी थियो । पुल निर्माण भएपछि पाँचसय बढी सर्वसाधारण लाभान्वित भएको उपभोक्ता समितिका सचिव ऐजुल मन्सुरीले बताए ।