कालाबञ्जार । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ नडाहामा अस्थायी प्रहरी चौकी निर्माणको लागि पहल थालिएको छ ।

वडाध्यक्ष रुद्र दाहालका अनुसार अस्थायी प्रहरी चौकीका लागि सम्बन्धित निकाय नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा डेलिगेसन जाने तयारी गरिएको हो । चोरी, लुटपाट, र चारकोशे जंगल नजिकै भएकाले काठ चोरी तस्करी, वन्यजन्तु चोरी तस्करी हुने गरेकाले पनि अस्थायी प्रहरी चौकी निर्माणको लागि पहल थालिएको अध्यक्ष दाहालले बताए ।

अस्थायी चौकीका लागि जिल्ला प्रशासनले अनुमति प्रदान गरेर हाल रहेको वडा कार्यालयको भवन नजिकै निर्माण गरिने भएको छ । त्यसका लागि छुट्टै समिति गठन गरिएको छ । वडा कार्यालय भवन निर्माण समितिका अध्यक्ष केशव पुरीको अध्यक्षतामा समिति गठन गरिएको वडाध्यक्ष दाहालले बताए ।

उनका अनुसार समितिको उपाध्यक्षमा मिजोलुङ चोङ्वाङ क्याक, सचिवमा विदुर भट्टराई, सहसचिवमा भीमदल राई, कोषाध्यक्षमा मीना पौडेल छन् । यसै गरी सदस्यहरूमा रमेश अधिकारी, सविर इधिङ्गो, योगेन्द्र दाहाल र कञ्चन दियाली छन् ।

नगरपालिका र प्रशासनले आवश्यकता ठानेको अवस्थामा निर्माण कार्यलाई तीव्रता दिइने समितिका अध्यक्ष केवश पुरीले बताए । यसअघि वडा कार्यालय पनि जनसहयोगबाटै निर्माण गरिएको हो । करिब २८ लाखको लागतमा निर्मित भवन तीन महिनाको बीचमा निर्माण गरिएको थियो ।