धरान/धरान–११ का एक जग्गाधनीले कोशी प्रोजेक्टको जग्गा हडपेको आरोप लागेको छ । कोशी प्रोजेक्टको खाली जग्गासँगै टाँसिएको जग्गाधनी छविका राईको परिवारले प्रोजेक्टको करिब डेढ कठ्ठा जग्गा हडपेको आरोप लागेको हो । 

धरान मालपोत कार्यालयको श्रेस्तामा छविकाको जग्गा कित्ता नम्बर २०३ घोपा १ (क) मा ६ कठ्ठा पौने १० धुर मात्रै रहेको उल्लेख छ । कोशी प्रोजेक्टसँगै टाँसिएको खाली जग्गामा उनले सिमेण्टको खम्बासहित तारजालीको बारबेरा लगाएको रिटिङ स्वतन्त्र टोल विकास समितिले आरोप लगाएको छ । ब्लाष्टकर्मी त्यहाँ पुगेर हेर्दा बारबेरा लगाएको अवस्थामा पाइएको थियो । तर, कोशी प्रोजेक्टको अधिकांश जग्गामा सुकुम्बासी बस्ती बसेको छ ।

२०५२ सालदेखि कोशी प्रोजेक्टकै जग्गामा बसेका टोल विकास समितिका सचिव टङ्कबहादुर विश्वकर्माले आफूले देख्दा सिमालीका बुट्टाहरू मात्रै देख्दै आएको बताए । उनले भने, ‘मैले देख्दादेखि सिमालीका बुट्टाहरू थिए, २०७१ सालमा बाटो बनायौं, बाटो बनाउने क्रममा जग्गाधनीले यो बाटोले हाम्रो जग्गालाई भेट्दैन भनेर भन्नुभयो ।’ उनका अनुसार अहिले आएर चाहिँ हाम्रो जग्गा हो भन्दै दाबी गरेर बारबेरा लगाएको छ ।

टोल विकास समितिका अध्यक्ष उमेश राई भन्छन्, ‘२०७१ सालमा बाटो बनाउने बेलामा जग्गाधनीलाई भेट्यौं, त्यो बेला हाम्रो जग्गा पर्दैन भनेर भन्नुभयो । हाम्रो रेकर्डमा पनि छैन ।’ उनका अनुसार कोशी प्रोजेक्टको जग्गालाई बारबेर गरेर टोल विकासले सामुदायिक भवन बनाउने तयारी गरेर बाँसले बारबेर गरेको थियो । तर, कसैले निजी जग्गा हडप्न लागेको भनेर सुनाइदिएको भरमा आएर भत्काएर तारजालीसहितको घेराबेरा लगाएको उनले बताए । ‘जग्गा हाम्रो पर्दैन भनेपछि हामीले सामुदायिक भवन बनाउने भनेर बारबेर गरेका थियौं, बार बारिसकेपछि डोजर लगाएर भत्काएर उहाँहरूले बारबेरा लगाउनुभएको छ’–अध्यक्ष राईले भने ।

यता जग्गाधनी छविकाका छोरा सन्तोष राईले विगतदेखि नै आफूहरूले भोगचलन गर्दै आएकाले बारबेर गरेको बताए । ‘हाम्रो जग्गा छ, भोगचलन गरिरहेका थियौं । ५–६ वर्षदेखि बाली नलगाउँदा माफिया टाइपको मान्छे आएर डिस्टर्व गर्यो । यसको परिणाम राम्रो हुँदैन भनेरसम्म धम्की दियो’ उनले भने, ‘मलाई त्यो मान्छेले धम्की पनि दिएको छ । अन्य छरछिमेकी कसैलाई पनि समस्या छैन, त्यो मान्छेले मात्रै मलाई आएर पैसाको डिमाण्ड गर्यो ।’ उनले उक्त मान्छेको नाम थाहा नभएको बताए । यसबारे अध्यक्ष उमेश राईलाई थप बुझ्दा आफूहरूले बाटो बनाउँदा पैसा मागेबाहेक हालसम्म पैसा नमागेको बताए । उनले भने, ‘हामीले कसैसँग पैसा मागेका छैनौं, अरू कसैले माग्यो भने हामीलाई थाहा भएन । धाकधम्की पनि दिएका छैनौं ।’

छविकाकी छोरी मधु राईका अनुसार उनको परिवारले ५–६ वर्ष अघिदेखि धान खेती गर्दै आएको थियो । त्यसपछि एकजनाले जग्गा लिजमा लिएर फर्म खोल्ने भनेपछि त्यसै छाडेको उनले बताइन् । उनले भनिन्, ‘अगाडि चाहिँ ऐलानी जग्गा रहेछ, हामीले भोगचलन गर्दै थियौं ।’ उनीहरूले पनि ऐलानी जग्गा भोगचलन गरेको स्वीकार गरेका छन् । तर, कोशी प्रोजेक्टको हो या कसको हो भन्ने आफूहरूलाई थाहा नभएको उल्लेख गरे । २०७१ सालमा सडक निर्माणको विषयमा सन्तोषले प्रष्ट्याउँदै भने, ‘बाटो बनाउने भनेपछि एक किसिमको एप्रोच थियो । बाटो बनाएका छौं भनेर पैसा चाहियो भनेर भने । हेर्न गएँ, बाटो थिएन पनि । त्यसैले गम्भीरता लिइनँ ।’ उनीहरूको जग्गासँगै टाँसिएको अर्को जग्गामा नयाँ घर बनिरहे पनि हाल उक्त घरधनीले भने कोशी प्रोजेक्टको जग्गा छाडेर घर बनाएको पाइएको छ ।