तेह्रथुम । धनकुटाबाट तेह्रथुम भित्रिने मानिस र गाडीहरुलाई चित्रे बजारमा रहेको चेक पोष्टमा चेकजाँज गर्न छाडिएपछि म्याङलुङमा कोरोना फैलिएको आरोप लालिगुराँस नगरपालिकाका नगरप्रमुखले लगाएका छन् ।
तेह्रथुम र धनकुटाको सीमामा रहेको चित्रेमा स्थापित प्रहरी बिटले नगरवासीलाई सास्ती दिएको भन्दै महालक्ष्मी नगरपालिका धनकुटाले त्यस ठाउँमा राखिएको ढाट फ्यालिदिएपछि प्रहरीले पनि चेकजाँच गर्न छाडेकाले कोरोना भाईरस फैलिएको नगरप्रमुख अर्जुन माबुहाङ्गले आरोप लगाएका हुन् ।
चित्रेमा स्थापित प्रहरी बिटले नगरवासीलाई सास्ती दिएको भन्दै महालक्ष्मी नगरपालिका धनकुटाका नगर प्रमुख पर्शुराम नेपालले वडावासीलाई बिना कारण प्रहरी बिटले दुःख दिएको आरोप लगाउदै तुरुन्त प्रहरी विट हटाउनुपर्ने भन्दै धनकुटामा साउन ७ गते पत्रकार सम्मेलन गरि विज्ञप्ती निकालेका थिए । धनकुटा बजारमा पत्रकार सम्मेलन गरेर आफ्नो नगरको वडा नं. १, २, ३, ४ र ८ का वडावासीलाई जितपुर बजार आउँदा–जाँदा दुःख दिएको जनाइएको थियो ।
पत्रकार सम्मेलनमा उप प्रमुख मञ्जु अधिकारी, १ नम्बर वडाका वडाध्यक्ष टेकबहादुर गुरुङ, २ का वडाध्यक्ष ध्रुव रायमाझी, ३ का वडाध्यक्ष भरत थापा, ४ का वडाध्यक्ष यज्ञबहादुर चापागाईं र ८ का वडाध्यक्ष रामबहादुर खड्का उपस्थित थिए । सो विषयमा तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले प्रहरीले त्यस्तो दुःख नदिएको बताउदै शान्ति सुरक्षासँगै कोभिडको कारणले चेकजाँचमा केही कडाइ गर्नुपरेको बताउनुभएको थियो ।
प्रजिअ न्यौपानेले तत्कालै धनकुटा जिल्लाभित्र आवत–जावत गर्ने र विशेष गरेर महालक्ष्मी न.पा.को वडा नं. १, २, ३, ४ र ८ का जनतालाई अरू जिल्लाको सँग नमिसाई छुट्टै लाइनमा राखेर छाड्ने व्यवस्था मिलाएको बताउनु भएको थियो । तर यति गर्दा पनि नभएर महालक्ष्मी नगरपालिका धनकुटाले त्यस ठाउँमा राखिएको ढाट फ्यालिदिएका थिए ।
त्यस पछाडी प्रहरीले चेकजाँच नै नगरी तेह्रथुम भित्रिने मानिस र सवारी साधनलाई छाडिदिने गरेका प्रत्यक्षदर्शीहरुको भनाई छ । यस पछि म्याङलुङ बजारमा कोरोना फैलिएको र अव जिल्ला भरीनै फैलन सक्ने सम्भावना रहेको पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष नरेश ढुङ्गानाले बताए ।
तेह्रथुममा हाल सम्म २५ जनामा कोरोना संक्रमण भएका मानिस फेला परेका छन् भने ७ जना निको भएर घर फर्किसकेका छन् । बाँकी १८ जनाको म्याङलुङमा रहेको सरस्वती माध्यमिक विद्यालयमा निर्माण गरिएको आईसोलेसनमा रहेका स्वास्थ्य कार्यालय तेह्रथुमले जनाएको छ । भदौ १० गते सम्म तेह्रथुम जिल्लामा पिसिआर विधिबाट २ सय ५१ महिला र १ हजार ५० पुरष गरि १३ सय १ जनाको कोरोना जाँच गरिसकेको छ । जसमा ८ महिला र १७ पुरुष गरि २५ जानमा कोरोना देखिएको छ ।
































