भोजपुर/भोजपुर जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका १५ दिनका लागि शिल गरिएको छ ।

कारोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि सोमबार बसेको सरोकारवाला पक्षको बैठकले जिल्ला प्रवेश गर्ने सबै नाका १५ दिनका लागि शिल गर्ने निर्णय गरेको हो । बाहिरी जिल्लाबाट सरुवा भई आएका तिन जना प्रहरीमा कोरोना संक्रमण देखिए सँगै जिल्ला प्रवेश गर्ने नाकामा कडाई गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए ।

बैठकले जिल्लाको अरुण गाउँपालिकास्थित जरायोटारमा रहेको होल्डिङ सेल्टर व्यवस्थापनका लागि ४९ लाख रकम संकलन गर्ने पनि निर्णय गरेको छ । जिल्लाको दुई नगरपालिका र सात गाउँपालिकाबाट ४९ लाख रकम संकलन गर्ने निर्णय गरिएको हो ।

बैठकमा होल्डिङ सेन्टर व्यावस्थापन तथा लेगुवाघाटमा सञ्चालित हेल्पडेक्सलाई निरन्तरता दिन भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाबाट सात लाखका दरले १४ लाख र सात वटा गाउँपालिकाबाट पाँच लाखका दरले ३५ लाख गरी जम्मा ४९ लाख रकम संकलन गर्ने सहमती भएको प्रजिअ पुरीले जानकारी दिए ।

यस्तै सदरमुकाम स्थित देउरालीमा रहेको क्वारेन्टाइनमा २० वटा बेड, पर्यटन सूचना केन्द्र टक्सारमा १६ वटा बेड, जिल्ला अस्पतालमा १० वटा बेड र अस्पतालको कुरुवा घरमा १४ बेड क्षमताको आइसोलेशन वार्ड बनाउने बैठकले निर्णय गरेको भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले बताए ।

प्रमुख आलेका अनुसार प्रत्येक स्थानीय तहका स्वास्थ्य केन्द्रमा पाँच वटा अक्सिजन सिलिण्डर सहित उपचारको व्यवस्था मिलाउने समेत निर्णय गरिएको छ । बैठकमा जिल्लाभर सञ्चालनमा रहेका साना ठूला सबै होटल बन्द गर्ने , जिल्ला प्रवेश गर्ने सबै सवारी साधनहरुलार्ई नाकामा निर्मलीकरण गर्ने, निर्मलीकरण गर्दा लागेको खर्च उद्योग वाणिज्य संघ भोजपुरले बेहोर्ने र मालबाहक सवारी साधनमा यात्रु ओसारेको भेटिएका त्यस्ता सवारी साधनलाई कार्वाही गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।
सन्देश किराती