इनरुवा । सुनसरीमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएका १६ हजार ४१ जना मध्ये ४ सय ९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार कुल संक्रमित मध्ये १ सय ८१ जना निको भएका छन् । जिल्लामा कुल एक्टिभ केसको संख्या भने २ सय २८ रहेको छ ।

सुनसरीमा आज थप भएका २३ सहित कुल कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ । स्वास्थ्य कार्यालय सुनसरीकी कोरोना फोकल पर्सन सृजना लिङथेपका अनुसार कार्यालयमा प्राप्त रिपोर्टका आधारमा सबैभन्दा बढी कोरोना संक्रमित धरानमा देखिएका छन् । उनका अनुसार धरानमा संक्रमितको संख्या १ सय ९ रहेको छ ।

त्यसैगरी इटहरीमा ६५ जना कोरोना संक्रमित भेटिदा दुहवीमा ५९, हरिनगरमा ३४, कोशीमा २९, रामधुनीमा २५, भोक्राहामा २० जना पाइएका छन् ।

स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार बर्जुमा १९, इनरुवा र देवानगञ्जमा १५–१५ जना कोरोना पोजेटिभ पाइएका छन् । बराहक्षेत्रमा १२ र गढीमा ७ जना संक्रमित भेटिएको कार्यालयले जनाएको छ ।

लिङथेपका अनुसार कार्यालयमा प्राप्त आधिकारिक रिपोर्ट मात्र सार्वजनिक गर्ने गरिएको छ । उनले दिएको जानकारी अनुसार जहाँ जुन पालिकाबाट स्वाब संकलन गरिएको हो । रिपोर्ट सोही स्थानीय तहमा उल्लेख गरिने गरिएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार पछिल्लो समय सुनसरीमा क्वारेन्टिन बाहिर रहेका व्यक्तिहरुमा बढी संक्रमण देखिन थालेको छ ।