भद्रपुर । निरक्षर व्यक्तिहरूलाई उपभोक्ता समितिमा राखेर गुणस्तरहीन काम गरी लाखाँै रुपैयाँको बजेट पचाएको एउटा घटना बाहिर आएको छ ।
झापाको हल्दीबारी गाउँपालिका– २ स्थित नमूना टोल जोगाउन देउनिया खोला किनारमा बनाइएको सिमेण्टको बार भत्किएपछि घटना सतहमा आएको हो । गत साउन २२ र २३ गते आएको बाढीले बार भत्काएको स्थानीयको भनाइ छ ।

भद्रपुर–७ र हल्दीबारी–२ को सिमानामा बग्ने देउनिया खोलाको कटानबाट जोगाउन १० लाख रुपैयाँ बजेट तत्कालीन जिल्ला भू–संरक्षण कार्यालय झापा भद्रपुरबाट निकासा भएको थियो । बजेट आउने पक्का भएपछि वडानम्बर २ का सदस्य खगेन राजवंशीको संयोजकत्वमा ०७५ वैशाख ८ गते ४५ जनाको भेलामार्फत् अध्यक्ष राजकुमारी ताम्ली राई, सचिव दीपक थापा, कोषाध्यक्ष राधा गिरी, सदस्यहरू यमबहादुर गिरी, डेटमोइ हेमरम, असारमाया राई र इन्द्र विष्ट रहने गरी उपभोक्ता समिति गठन गरेको कागज बनाइयो तर बैठक पुस्तिकामा कार्यसमितिका सदस्यको सही भने छैन ।

निर्माण कार्यको अनुगमनका लागि समितिमा खगेन राजवंशी संयोजक रहने गरी सुकलाल राजवंशी, शान्तादेवी गौतम र सरमाया लिम्बूलाई सदस्यमा चयन गरियो । उनीहरूले भने सही गरेको बैठक पुस्तिकामा उल्लेख छ ।
जिल्ला भू–संरक्षणले ०७४÷७५मा हल्दीबारीलाई हल्दीबारी गोलधापको भुसुडी खोलाका लागि पठाइएको ३० लाखमध्ये १० लाख देउनिया खोलाको सुकुम्बासी बस्तीमा ल्याइएको थियो । तटबन्धनबाट सो क्षेत्रमा रहेका बस्ती र सयौँ परिवारको जग्गा जोगाउने उद्देश्य थियो । पक्की तटबन्धन वर्षाको समयमा शुरु गरियो ।

बालुवामाथि ढुङ्गा ओछ्याएर पानी परिरहेको समयमा ढलान गरेको स्थानीयले देखे । ठेकेदारलाई पटक–पटक भन्दा वास्ता नगरी काम भयो । २७.६० मिटर लामो पक्की बार एक वर्षमै भत्कियो । गुणस्तरहीन र लापरबाहीका कारण बार भत्किएको स्थानीयको आरोप छ । स्थानीयसँग जानकारी नलिई इञ्जिनियरले नक्साका आधारमा बार बनाएका कारण ढलेको नमूना टोलका निलकण्ठ दङ्गालको आरोप छ । ‘खोलाको धार हेरेर तटबन्ध निर्माण गर्नुपर्नेमा नक्सा हेरेपछि कसरी हुन्छ ?’ –उनले भने । भद्रपुर –७ ले देउनिया खोलामा निर्माण गरेको विश्रान्ती घाटमा तटबन्ध निर्माण गरेर खोलाको धार पश्चिमतर्फ धकेलेपछि यो वर्षमात्र एक बिगाह जमिन कटान गरेको उनले बताए ।

सो क्षेत्रमा वडा कार्यालयले बाँसका बिरुवा रोपे पनि कटान शुरु गरेको उनको भनाइ छ । गुणस्तरहीन निर्माणका कारण बार ढलेको अधिकांश स्थानीयको आरोप छ । सोझासिधा र निरक्षर व्यक्तिलाई समितिमा राखेर बाठा मान्छेको कमाइखाने भाँडो भएको स्थानीय रोहित खतिवडाको आरोप छ । स्थानीयको भनाइ नै नसुन्ने गाउँ तथा वडा कार्यालयकै कारण यस्तो भएको उनको गुनासो छ । समितिमा बसे पनि आफूलाई केही थाहा नभएको समितिकी सदस्य डेटमइ हेमरम बताउँछिन् । उनी भन्छिन्, ‘कति खर्च भयो के के गरियो मलाई केही थाहा छैन । बालुवामाथि नै बार बनाउन थालेपछि गहिरो बनाउँ भन्दा उनीहरूले मानेन् । काम शुरु भएपछि कसैले बोलाएन् ।’

समितिको अध्यक्ष बनाइएकी राजकुमारी ताम्ली राई आफूजस्तो ल्याप्चे लगाउने मान्छेलाई अध्यक्ष बनाइएको र काम के के भयो केही थाहा नभएको बताउँछिन् । उनी भन्छिन्, ‘ढलानका लागि गिट्टी चाल्नू पैसा दिन्छु भने, दुई ट्याक्टर गिट्टी चालेँ । तर अहिलेसम्म पैसा पाएको छैन । गर्मी थियो चाल्न नसकेपछि मिक्सगिटी हालेर उनीहरूले ढलान गरे ।’ उनी आफूलाई खगेन राजवंशीले गाउँपालिकामा लगेर कता–कता सही गर्न लगाएको र आफू त्यस विषयमा केही नजान्ने बताउँछिन् ।

पहिलो वर्ष ३ लाख २५ हजार पेश्की लिएर काम गरेकोमा सबै खोलाले बगाइदिएको समितिका सदस्य इन्द्र विष्टको भनाइ छ । दोस्रो पटक आएको बाँकी बजेटको विषयमा केही जानकारी नभएको उनले बताए । जग नै नखनी निर्माण गरेका कारण ढलेको उनले बताए ।

ताम्लीको साथमा सिटिजन बैङ्कको एउटा सकिएको चेक र बैठक पुस्तिका मात्र छ । पुस्तिकामा अधिकांश बैठकमा सही छैन भने जथाभावी पानामा केरमेट गर्दै निर्णय गरिएको छ । हिसाब फरफारक गरेको निर्णय पुस्तिकामा बैठक मिति ०७६ असार लेखिएको छ भने उपस्थितिमा सही नै छैन । कतिपय निर्णयमा अध्यक्षलगायतको कीर्ते सहीसमेत गरिएको छ ।

उपभोक्तामार्फत् मौखिक सहमतिमा ०७५/७६ मा काम गरेको सन्तोष राजवंशीले बताए । समितिबाट १ लाख ८० हजार रकमसमेत नपाएको उनको गुनासो छ । ०७४/७५ मा ३ लाख २५ हजार र बाँकी बजेटको दोस्रो वर्षमा काम सम्पन्न गरिएको उनले बताए । बारको अगाडि ढुङ्गासहितको तारजाली लगाएर मात्र पक्की बार बनाउनु पर्नेमा सो नगरेका कारण खोलाले कटान गरेपछि बार ढलेको उनले बताए ।

खोलाको उत्तरपट्टि तारजाली गरेर मात्र पक्की बार बनाउन इञ्जिनियरसहितले सल्लाह दिँदा स्थानीयले नमानेपछि पानीले हानेर भत्काएको वडानम्बर २ का सदस्य एवम् अनुगमन समितिका संयोजक खगेन राजवंशीले बताए । तार जालीका लागि रकम निकासा नभएपछि बारको काम टिकाउ हुन नसकेको उनको भनाइ छ । भेलामा उपस्थित भएर सही गरेपछि गठित नयाँ समितिमा सहीको आवश्यक नभएको राजवंशीले बताए । तर निरक्षर ताम्लीले हस्तलिखित सही गरेको भेलाको उपस्थिति पुस्तिकामा देखिएको छ ।