धरान/ हरेक साँझ ४ बजेपछि बङ्गुरको सेकुवाको राग नाक छेड्दै वायुमण्डलमा हराउँछ । अझ महाभारत शृङ्खलाबाट बहने चिसो हावा सेउती खोला हुँदै सेकुवाको रागमा ठोक्किँदा वातावरण थप सुगन्धित बनाइदिन्छ । जति–जति घडीको सुई उकालिन्छ, त्यति–त्यति धरान–१५ बगरकोटमा सेकुवाको राग गाढा बन्दै जान्छ ।

सेकुवा पसलमा गुञ्जिने डिजेइङसहितको चर्को ध्वनिले थप रङ्गीन बनाउँछ । जोडाजोडी र सेकुवा पारखीहरू पनि ध्वनिसँगै रङ्गीन बन्छन् । सेकुवासँगै मदिराले उन्मत्त बन्ने बगरकोटले १८ वर्षदेखि यसरी नै पहिचान बनाएको छ । बगरकोट, १८ वर्षअघि बगरकोट थिएन । यसले पहिचान पाएको ६० को दशकपछि नै हो ।

यी दशकमा तन्नेरी धराने पत्रकार जसकुमार राई ‘बेखर्ची’ ले ‘बगरकोट’ नाम जुराइदिएको स्मरण गर्छन्–पत्रकार तथा लेखक जनकऋषि राई । उनका अनुसार पत्रकार जसकुमारले बगरकोटको विषयमा एउटा ‘आर्टिकल’ नै लेखेका थिए । त्यसबेला त्यहाँ भर्खरै–भर्खरै सुकुम्बासी बस्ती बस्न थालेको थियो । त्यही हेर्नका लागि पुगेका बेला बगर देखेपछि जसकुमारले ‘बगरकोट’ नाम राखिदिएको पत्रकार जनकऋषिको भनाइ छ ।

केही वर्ष नामविहीन बगरकोटमा उत्तम शाक्यको टाँटीले बारेको सेकुवा कर्नरले त्यहाँको व्यवसाय धानेको थियो । कच्ची सडकको दायाँ–बाया खेतका गराहरू छिचोल्दै धरानेहरू सेकुवाको स्वाद लिन पुग्थे । आहा ! त्यो स्वाद, धरानेको जिब्रोमा नयाँ लाग्यो । स्वादका पारखी बढ्दै गए । सेकुवाका एकादुई टहराहरू थपिन थाले । टहरामा तोङ्बासँग सेकुवाको स्वाद लिँदै गफिनेहरूले काठमाडौंमा नगरकोट, पोखरामा सराङ्कोटजस्तै धरानमा एउटा ‘कोट’ चाहिन्छ भनेर ‘बगरकोट’ राखिदिएको स्मरण गर्छन्–कवि राजन मुकारुङ । उनी भन्छन्, ‘२०६१ सालतिर मिथकमय भन्ने कविता सङ्ग्रह धरानमै विमोचन हुने भयो, दिउँसो घण्टाघरमा विमोचन गरियो । साँझमा कहाँ जाने भन्दा खोला किनारमा तोङ्बा खाने टहरा छ, भनेपछि पुगियो । त्यो बेलामा खाँदै जाँदा यो ठाउँको नाम ‘बगरकोट’ भनेर कुनै साथीले भने जस्तो लाग्छ ।’

उनी थप्छन्, ‘सिरिरि हावा चल्ने, बगरकोट भन्दै साथीभाइले न्यूज लेखे । शुरुमा पोखराको सराङकोट, धरानको बगरकोट भन्ने पाराले नाम दिइएको थियो । हाम्रोतर्फबाट चाहिँ त्यसरी नाम रहन गएको थियो ।’ त्यसपछि त चल्तीको नाम, बगरकोट । सेउती खोलाले साम्राज्य मच्चाएर छाडेको भूमि थियो । जहाँ काँसघारी थियो । खोला कुदेको हुनाले बालुवाको थुप्रो थियो । खोलाको डिलमा १८ वर्षअघि उत्तम शाक्यको सेकुवा कर्नर खुल्यो ।

त्यो बेला अहिलेको जस्तो बाक्लो घरहरू थिएनन् । ‘साँझ परेपछि स्याल कुद्थे । निकै निर्जन थियो’–मेन्याङ्बो होटल एण्ड बिबिक्यू हाउसका सञ्चालक जीवन मेन्याङ्बो विगत स्मरण गर्छन् । उत्तमले सञ्चालनको गरेको ५ वर्षपछि शर्मिला श्रेष्ठको तोङ्बा, सिकुटी पाउने कटेरो खुल्यो । साँझ परेपछि भीडभाड बढ्न थाल्यो । त्यसपछि मेन्याङ्बो आफैले सेकुवा कर्नर खोले । कामविहीन थिए । कुनै पेशामा आवद्ध नभएकाले उत्तम शाक्यकहाँ खाएको कान, जिब्रोको स्वाद उनले भुलेका थिएनन् । त्यसपछि त्यही व्यवसाय थाले ।
त्यसयता भने बगरकोटमा सेकुवा कर्नर खुल्ने क्रम जारी रह्यो, अहिले पनि जारी नै छ । पाँच वर्षयतादेखि बगरकोटमा लाउञ्ज एण्ड बारले अड्डा जमाउन थालेको छ ।

bagarkot 1 जहाँ चर्को ध्वनि गुञ्जायमान हुन्छ । बगरकोट व्यवसायी मञ्चका अध्यक्षसमेत रहेका मेन्याङ्बो भन्छन्, ‘लाउञ्ज बार खुल्न थालेपछि चर्को साउण्ड बजाउने विकृति आयो ।’ उनका अनुसार स्थानीय सरकारले बगरकोटमा भएका रेष्टुराँ र बारको वर्गीकरण गरेर कति ध्वनि बजाउन पाउने भन्ने निर्धारण गरिदिए ठीक हुन्छ । बगरकोट आन्तरिक पर्यटकले मात्रै चलेको छ । यहाँ आंशिक मात्रै बाहिरबाट मानिसहरू खानका लागि आउँछन् । विदेशमा रहेका धरानेहरू स्वदेश फर्किएको समयमा यहाँ आएर रमाउँछन् । सोचेजस्तो बगरकोट बन्न सकेको छैन । ‘यहाँको व्यवसाय आन्तरिक पर्यटकले मात्रै चलेको छ’–मेन्याङ्बो भन्छन् ।

बगरकोटमा साना–ठूला गरेर ३० देखि ३२ वटा रेष्टुराँ र बार छन् । लाउञ्ज बार ५ वटा छन् । बगरकोटलाई व्यवस्थित गर्नका लागि पाँच वर्षअघिदेखि समिति नै बनाएर अघि बढेका छन् । हालै जिल्ला प्रशासन कार्यालय सुनसरीमा बगरकोट व्यवसाय मञ्च दर्ता गरिएको छ । अहिले दैनिक साँझमा २ सय केजीभन्दा माथि बङ्गुरको सेकुवा, कान, जिब्रो पाक्छ । अध्यक्ष मेन्याङ्बोका अनुसार दैनिक २८ देखि ३० लाखको हाराहारीमा कारोबार हुने गरेको छ । तर कोभिड –१९ को महामारीपछि भने बगरकोटलाई पनि उस्तै गरी थला पारेको छ । अहिले आंशिक रूपमा मात्रै पसलहरू खुलेका छन् ।

Bagarkot