विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका जना महिला कर्मचारीहरूलाई म्याद थप गर्ने प्रहरीले तयारी गरेको छ ।
आफनै कार्यालयका कार्यालय सहयोगी दुई जना महिला कर्मचारीले शनिबार ११ बजे सञ्जेललाई कुटपिट गरेका थिए ।

सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परका नेत्र कुमारी भट्टराई र मेनुका कोइरालालाई जिल्ला प्रशान कार्यालय मोरङमा ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरि अनुसन्धान सुरू गर्ने तयारी गरेको हो ।

महिला कर्मचारीले कुटपिट गरेपछि शनिबार दिउँसो सञ्जेलले मोरङ प्रहरीमा जाहेरी दिए । शनिबार साझसम्म दुवै पक्षबिच मोरङ प्रहरी कार्यालयमा छलफल भएको थियो । सञ्जेलले आफुमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही हुनुपर्ने अडान राखेपछि प्रक्रिया अगाडी बढाएको बुझिएको छ ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले पक्राउ परेका दुई जनालाई अभद्र मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गर्ने तयारी गरिएको जानकारी दिए । ‘म्याद थप गर्न पठाउने तयारी गरिएको छ,’ उनले भने, ‘कागजपत्र तयार भएपछि आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा म्याद थप हुनेछ ।’

सञ्जेललाई कुटपिट गर्ने दुवै जना कर्मचारी करारमा नियुक्त भएका कार्यालय सहयोगी हुन् । सञ्जेलले सहन नसक्ने गरि अपशब्द बोलेर दुव्र्यवहार गरेको, अनावश्यक रुपमा काममा पेलाउने र जिम्मामै नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएको आरोप लगाउँदै कुटपिट गरेको महिला कर्मचारीरीको भनाई छ । उनीहरूले सञ्जेललाई टेबुलमाथि राखेको पेपर वेटको डल्लो, नेम प्लेट र पञ्चिङ मेसिन प्रहार गरेका थिए । कुटपिटबाट सञ्जेलको निधार, ओठ र हातमा चोट पटक लागेको छ ।