विराटनगर/ कोरोना संक्रमणबाट बच्नका लागि व्यक्ति आँफै सवाधानी अपनाएर सतर्क बन्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयले मंगलबार विराटनगरमा आयोजना गरेको कोभिड १९ संवन्धि छलफल कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ मा पछिल्लो समय कोरोना संक्रमणको दर बृद्धि भएको बताए । केही समयदेखि घटेको संक्रमण पछिल्लो एक सातामा बढेर गएको उनले बताए । संक्रमण बढेसँगै सचेतना आवस्यक रहेकोमा उनले जोड दिए । व्यक्ति आँफै सतर्क नभए संक्रमण झन बढेर जाने मन्त्री घिमिरेको भनाई छ ।

कोरोना संवन्धि सतर्कता नअपनाउनेलाई कानुनको सहारा लिएर भएपनि सर्तकता अपनाउन लगाउनुपर्नेमा उनको जोड छ । लकडाउनले संक्रमण नियन्त्रण हुने नदेखिएकाले व्यक्ति आँफै सतर्क हुने समय आएको मन्त्री घिमिरेले बताए । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले स्थानीय तहहरुले सार्वजनिक सेवा बन्द गर्दैमा संक्रमण नियन्त्रणमा नआउने देखिएकाले सेवाग्राहीको रेकर्ड राखेर सेवा प्रवाह गर्नुपर्ने बताए । उनले व्यक्ति सचेत हुने बेला आएको बताए ।

निजि अस्पताल सञ्चालकहरुको संगठन (अफिन)का प्रदेश १ संयोजक डा. सुनिलचन्द्र अधिकारीले कोरोना संक्रमणबाट जोगिनका लागि अनुशासन आवस्यक रहेकोमा जोड दिए । उनले होम आईसोलेसनमा बस्न सक्नेहरुलाई त्यस्तो सुविधा सरकारले दिनुपर्ने बताए । मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले अनुशासनमा बस्न नसके संक्रमण नियन्त्रणमा समस्या हुने बताए । सीमामा सुरक्षा व्यवस्था कडा बनाईएको उनको भनाई छ ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका संयोजक डा. डेनप्रसाद आचार्यले संक्रमण बढेसँगै सरकारले संक्रमितको उपचार गर्न नसक्ने भएकाले ब्यक्ति आँफै सचेत हुनुपर्नेमा जोड दिए ।