संखुवासभा/ अविरल वर्षाका कारण संखुवासभाको तुम्लिङटार बजार क्षेत्र डुवानमा परेको छ । खाँदबारी नगरपालिका वडा नं. ९ तुम्लिङटार स्थित शुक्रबारे बजार डुवानमा परेको हो । पानीको बहाव बढेसंगै घरभित्र पानी पसेर ३ घर पुर्णरुपमा बस्न कमिल्ने भएको छ ।

विश्वको होचो अरुण उपत्यका तुम्लिङटार स्थित शुक्रबारे हटिया डुवानमा परेको छ । बजार क्षेत्र डुवानमा परेपछी जनजीवन अस्तव्यस्त बनेको छ । शुक्रबारे बजारका दर्जनौं घर डुवानमा परेपनि विकास श्रेष्ठ सहित ३ घर परिवार पूर्ण रुपमा विस्थापित भएको खाँदबारी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष टिकाराम कुमालले बताए छन् । उनका अनुसार विस्थापितहरु आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् । भने घर भाडामा बसेकाहरुको सामान सुरक्षित स्थानमा राखिएको छ ।

आइतबार रातीदेखि परेको अविरल वर्षाका कारण घरहरु डुवानमा परेपछी स्थानीयका घर, पसलमा क्षती पुगेको हो । शुक्रबारे हटिया जलमग्न बनेपछी बिहानै खाँदबारी नगरपालिकाको डोजर प्रयोग गरी पानीलाई नदीतर्फ कटान गरिएको खाँदबारी नगरपालिकाले जनाएको छ । खाँदबारी नगरपालिका मुरारी प्रसाद खतिवडाले अझै पानी पर्ने सम्भावना रहेकोले सबैलाई सुरक्षित रहन अनुरोध गरेका छन् ।

खाँदबारी नगरपालिका वडा नं. ९ मङ्लिनदेखि तुम्लिङटार बजारको सबै क्षेत्रको पानी गोलिएर बजारमा पसेका कारण पानी जमिएको स्थानीय भक्त बहादुर वि.क.ले बताए । उनले सडक निर्माण गर्दा जताततैबाट पानी गोलिएर आउने र एकमुष्ट रुपमा बजारको होचो भागमा जमिएको बताए । बर्षेनी यस्ता समस्या भोग्दै आए पनि यसपालि भने धेरै अस्तव्यवस्त बनाएको स्थानीयले जनाएको छ । सडक निर्माण गर्दा ध्यान दिन सकेको भए यस्तो विपत्ति नआउने फुलमाया तामाङले बताईन् । उनले आफ्ना पसलमा रहेको सबै सामान देखाउँदै नसोंचेको घटना भएर धेरै क्षति भएको दुःख व्यक्त गरिन् ।

सोमबार राती पानी परेका कारण रातभरी सुत्न समेत नसकेको तुम्लिङटारबासीले बताएका छन् । विहानसम्म सडक वारपार गर्न नसकिने अवस्था थियो स्थानीय विरेन्द्र तामाङले भनेः बल्ल नगरपालिकाको डोजर ल्याएर नाली बढाएर पानी घट्यो ।

अव्यवस्थित शहरीकरणका कारण चारैतिर घरहरुले घेरिएपछी बजार क्षेत्र डुवानमा परेको हो । वस्ति बिस्तार भएपनि व्यवस्थित ढल निर्माण हुन नसक्दा समस्या भएको स्थानीयहरुको भनाई छ । सानो ढल निकास भएको र ढलबाट जमिएका पानी सबै नजाने भएकोले डुबानमा परेका स्थानीय पुर्व जिल्ला सभापति पद्म केशर कार्कीले बताए ।

उनका अनुसार तुम्लिङटारमा घर बनाउनेहरुले घरमात्र बनाउने तर सुरक्षित ढल निकास नबनाएको कारण घरभित्र पानी पस्ने गरेको बताए । शुक्रबारे हाट लाग्ने स्थानमा निक्के ठुलो ठाउँ रहेको स्मरण गर्दै अहिले सार्वजानिक जग्गा नै घट्दै गएको उनले बताए । उनले घरहरु निर्माण गर्दा ढल निकासमा हेल्चेक्रयाईं गरेका कारण अहिले पानी जमिने र घरभित्र पस्ने गरेको बताए ।