धनकुटा/ प्रदेश १ को भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले धनकुटामा कोरोना भाइरसबाट पिडित वनेका किसानलाई एक करोड ५३ लाख ७१ हजार ४ सय ५१ रुपैयाँ राहत वितरण गरेको छ ।

कोरोना भाइरसको कारणले सरकारले गरेको लकडाउनका कारण प्रभावित भएका धनकुटाका ८४ वटा कृषि फर्म तथा समुहमा आवद्ध किसानलाई सोमवार राहत वितरण गरेको हो । प्रदेश सरकारको भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र धनकुटा मार्फत तरकारी/च्याउ अनुदान, हरियो चिया र कृषि ऋण ब्याज अनुदान कार्यक्रम शिर्षकमा सञ्चालित ३० वटा कृषि फर्म तथा समुहमा आवद्ध कृषकहरुलाई राहत रकम दिएको हो ।

यस्तै भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटा मार्फत कुखुरापालन, दुग्ध पदार्थ, दुग्ध उत्पादन र बंगुर पालन गरि ६८ कृषि फर्म तथा समुहमा आवद्ध कृषकहरुलाई राहत रकम दिएको हो । जसमा कृषि ज्ञान केन्द्र धनकुटा मार्फत ६१ लाख ५४ हजार ९ सय ३१ रुपैया तथा भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटा मार्फत ९२ लाख १६ हजार ५ सय १३ रुपैयाँ राहत वितरण गरेको छ ।

मन्त्रालयले जिल्ला समनवय समिति धनकुटाको समन्वयमा एक कार्यक्रमको आयोजना गरी मन्त्रालयका राज्यमन्त्री रामबहादुर मगरले किसानलाई राहत वितरण गरेका थिए । राहत वितरण गर्दै राज्यमन्त्री मगरले प्रदेश सरकारले कोरोना प्रभावित किसानलाई सानो सहयोग गरेको बताए । उनले कोरोनाको कारण कृषि क्षेत्रमा तत्काल क्षति गरेको बताउँदै प्रदेश १ सरकारले कृषि क्षेत्रमा ४५ करोड रुपैयाँ बराबरको राहत वितरण गर्ने तयारी गरेको भएपनि किसानले उत्साह जनक निवेदन नदिएको बताए ।