धरान/ धरानका चोक र गल्लीहरूमा केही अशक्तहरूलाई लिएर एक जना व्यक्ति गीत गाउँदै हिँडेको देखिन्छ । ती व्यक्ति हुन्, धराने माइला ।
उनको खास नाम अर्कै हो तर उनी धराने माइला भनेरै चिनिन चाहन्छन् । उनै धराने माइलाले साउन १ यता टोल–टोलमा साङ्गीतिक कार्यक्रम गरिरहेका छन् । यसरी गाउँदा मनकारीले दिएको पाँच–दश रुपैयाँ जम्मा गरेर उनी त्यही क्षेत्रका अशक्त, अपाङ्गलाई चामल, दाल, तेल किनेर दिन्छन् ।
साउन १ यता उनले यसरी गाएर पाएको पैसाले ९ जना अशक्तलाई १० केजी चामलसँगै तेल र दाल बाँडेको उनी बताउँछन् । उनी भन्छन्, ‘कोरोना महामारीले हामी समान्य मान्छेलाई त गाह्रो भएको छ । अशक्त, अपाङ्गता भएकाहरूलाई त झन् बाँच्नै मुस्किल छ । त्यसैले उनीहरूका लागि गाउँदै हिँडेको छु ।’
धराने माइलासँगै सिटी सफारीमा चढेर अशक्त लक्की मगर पनि टोल–टोल पुग्छिन् । माइलाले गाएपछि स्थानीयले सकेको सहयोग गर्छन् । त्यो पैसाबाट लक्कीको हातबाट अशक्तलाई वितरण गरिन्छ । उनीहरूलाई सिटी सफारी चालकले पनि सामान्य भाडा मात्र लिएर सहयोग गरेका छन् ।
केही वर्षदेखि दृष्टिविहीन, अपाङ्गता भएकाहरूका लागि गाउँदै हिँडेका धराने माइला पहिला चाहिँ गाएर सङ्कलन गरेको पैसाबाटै सामान्य खर्च लिन्थे । बाँकी अशक्त, दृष्टिविहीनलाई नै दिन्थे । अहिले भने उनी सङ्कलन हुने पैसा आफू लिँदैनन् । उनी भन्छन्, ‘अपाङ्ग, अशक्तहरूलाई कसैले सहयोग नगरेको देखेर म हिँड्न थालेको हुँ । यस्तो बेला उनीहरूलाई सहयोगको खाँचो छ ।’