भोजपुर/ राष्ट्रिय परिचय–पत्र वितरणका लागि भोजपुरमा तथ्याङ्क सङ्कलन शुरु गरिएको छ । एक कार्यक्रमका बीच आइतबारदेखि राष्ट्रिय परिचय–पत्र वितरणका लागि तथ्याङ्क सङ्कलन शुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयबाट परिचय–पत्रको दर्ता शुरु गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए । परिचय–पत्रको फारम जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्का र पूर्व बेलायती सैनिक मेजर बलिमान राईले भरेको प्रजिअ पुरीले जानकारी दिए ।

राष्ट्रिय परिचय– पत्र पाएपछि नागरिकता, लाइसेन्सलगायत कागजात बोक्नुपर्ने झन्झट कम हुने उनले बताए । प्रजिअ पुरीले सबै जिल्लाबासीलाई परिचय–पत्रको फारम भर्नसमेत आग्रह गरेका छन् ।

नागरिकलाई सेवा सुविधा सहज र छिटो प्राप्त गर्नुको साथै कुनै व्यक्तिको कागजात अर्को व्यक्तिबाट कीर्ते नहोस् भन्ने लक्ष्यका साथ नेपाल सरकारले २०७५ मङ्सिर ३ गतेबाट राष्ट्रिय परिचय–पत्र वितरणको शुरुवात गरेको हो ।

सरकारले पहिलो चरणमा पाँचथर तथा सिहंदरबार परिसरबाट परिचय–पत्र वितरण शुरु गरेको थियो । दोस्रो चरणमा भोजपुर सहित झापा, सङ्खुवासभा, सप्तरी, महोत्तरी, ललितपुर, रसुवा लगायत गरी १५ जिल्लामा राष्ट्रिय परिचय–पत्र वितरण शुरु गरिएको हो ।