धनकुटा/ धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ १० वर्षअघि धनकुटाको हिलेमा स्थापना भएको बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिर परिसरमा सातवटा टाउको भएको शेष नागको स्तम्भ शनिबार अनावरण गरिएको छ ।

दशौं वार्षिक उत्सव तथा नागपञ्चमीको अवसर पारेर धनकुटा नगरपालिकाका प्रमुख चिन्तन थिङ तामाङ र श्री नं.२ वाहिनी अड्डा हिलेका वाहिनीपति सहायक रथि यमप्रसाद ढकालले संयुक्तरूपमा शेष नागको स्तम्भ अनावरण गरेका हुन् ।

स्तम्भ अनावरण कार्यक्रमका प्रमुख अतिथि तामाङले धनकुटालाई सुन्दर बनाउनको निम्ति कुनै देश विदेशको नक्कल नगरी धनकुटालाई धनकुटाजस्तै बनाउन नगरपालिका लागिपरेको दाबी गरे । उनले यसै क्रममा हिलेलाई हिलेजस्तै बनाउनको लागि पर्यटकीय दृष्टिकोणले अवलोकन गर्न मिल्ने खालका भौतिक पूर्वाधार निर्माणको काम भइरहेको बताए । उनले बक्रकुण्डमा शेषनागको स्तम्भ राखेर आन्तरिक तथा वाह्य पर्यटक भिœयाउन टेवा पुग्ने आशा व्यक्त गरेका छन् ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि श्री नं.२ वाहिनी अड्डा हिलेका वाहिनी पति सहायक रथि यमप्रसाद ढकालले बक्रकुण्डले सबैखाले समुदायलाई एकै थलोमा भेला पारेर सामाजिक, सांस्कृतिक र धार्मिक सद्भाव कायम गर्न मद्दत पु¥याएको बताए ।

बक्रकुण्डमा शेषनागको प्रतिमा राखेर पर्यटन प्रवद्र्धनमार्फत् आर्थिक विकास गर्न टेवा पुग्ने आशा वाहिनी पति ढकालले पनि व्यक्त गरेका छन् । धनकुटा नगरपालिका वडा नं.१ का वडाध्यक्ष निरेन तामाङले बक्रकुण्डलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सातवटा टाउको भएको शेषनागको स्तम्भ स्थापना गरिएको बताए । बक्रकुण्डको दर्शन गर्न आउने भक्तजनलाई दुर्लभ मानिएको शेषनागले नागपञ्चमीको दिन दर्शन दिने गरेको अध्यक्ष तामाङले बताए ।

बक्रकुण्ड पञ्चेश्वर धार्मिक तथा पर्यटन विकास समितिका प्रमुख सल्लाहकार लालचन्द्र गोङ्वा तामाङले धनकुटा नगरपालिकाको २० लाख र जनश्रमदान २ लाख गरी जम्मा २२ लाख रुपैयाँको लागतमा बक्रकुण्डमा पर्यटन प्रवद्र्धनलाई टेवा पु¥याउने खालका पूर्वाधार निर्माण भएको बताए ।

विनियोजित बजेटले बक्रकुण्डसम्म आउने भक्तजनलाई सहजताको लागि ब्लकको सिँढी निर्माण, मन्दिर परिसरमा सिमेण्टको ब्लक बिछ्याउने कार्य र शेषनागको स्तम्भ खरिद गरिएको बताइएको छ । सो अवसरमा समितिका कोषाध्यक्ष ज्ञानबहादुर राईले दशौं वार्षिक उत्सवको अवसरमा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समितिका अध्यक्ष सिंहबहादुर तामाङको अध्यक्षतामा सम्पन्न शेषनागको स्तम्भ अनावरण तथा दशौं वार्षिक उत्सव समारोहमा जिल्ला समन्वय समितिका सदस्य ओङ्दा थिङ तामाङलगायतले पनि कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव भोगेन्द्र थापाले गरेका थिए भने स्वागत मन्तव्य समितिका सह–सचिव दीपक घिमिरेले गरेका थिए । सो अवसरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

nag1 nag2 nag