भण्टाबारी/ सुनसरी र सप्तरी जिल्लामा हात्ती आतङ्क वर्षौंदेखिको समस्या हो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर आउने हात्तीको समूहले गाउँमा ताण्डव मच्चाउनेदेखि घर भत्काउने, भण्डारण गरी राखिएको खाद्यान्न खानेदेखि लिएर मान्छे मार्दै आएको छ ।
हात्ती आतङ्क रोक्न यसक्षेत्रका सर्वसाधारण पटक–पटक आन्दोलित हुँदै आएका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षको कार्यालयले हात्तीले गर्ने नोक्सानी रोक्नका लागि करोडौं खर्च गरेर सोलार तारबार जडान गरे पनि उक्त योजना प्रभावहीन छ । मध्यवर्ती क्षेत्रमा करोडौं खर्च गरेर हात्ती रोक्न विद्युतीय तारले घेरा गरिए पनि उक्त अभियान प्रभावकारी छैन । दिनहुुँजसो आउने हात्तीको त्रासले कोशी क्षेत्रका सर्वसाधारण राति जाग्राम बस्दै आएका छन् । रैथाने जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गर्दा सर्वसाधारण त्रसित बन्दै आएका छन् ।
हात्ती आतङ्क रोक्न माग गर्दै चक्काजाम
कोशीटप्पु वन्यजन्तु आरक्षबाट बिहीबार राति निस्केर आएको हात्तीको समूहले कोशी गाउँपालिका–८ भण्टाबारीस्थित रेल्वे टोल र नन्कु टोलका ८ जनाको घर भत्काएको छ । गाउँमा विद्युत् लाइनसमेत नभएको अवस्थामा रातको समयमा हात्तीको समूह आएपछि स्थानीयहरू ज्यान जोगाएर भागेका थिए । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीनवटा हात्तीको समूहले स्थानीय सफिद मियाँ, कलमिद्दीन मियाँ, कलेश्वर सरदार, फुलेश्वर कामैत, नौशाद आलम, हफिज मियाँ, गणेश सरदार र नईम मियाँको घरमा तोडफोड गर्दै घरभित्र भण्डारण गरी राखिएको धान, चामल, गहुँ, पिठो खाएर नष्ट गरिदिएको छ ।
पटक–पटक हात्ती गाउँ पसेर घर तोडफोड गर्दै आए पनि रोकथामका लागि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले तदारुकता नदेखाएको भन्दै पीडितहरूले बिहीबार पूर्व–पश्चिम राजमार्ग करिब एक घण्टा अवरुद्ध गरेका थिए । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी र स्थानीय प्रशासनले पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने शर्तमा राजमार्ग खोलिएको थियो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट रातको समयमा आउने हात्तीको समूहले घर भत्काई भण्डारण गरी राखेको गहुँ, चामल, पिठो, मकै, खाने र नष्ट गर्दै आएको छ ।
आउँदैनन् आरक्षका कर्मचारी
कोशीटप्पु वन्यजन्तु आरक्षबाट नियमितरूपमा हात्तीको समूह मानव बस्तीमा पस्ने गरे पनि स्थानीयले रातभर जाग्राम बसेर हात्ती धपाउने गरेका छन् । हात्ती मानव बस्तीमा पसेर ताण्डव मच्चाउने गरेको बारे आरक्ष प्रशासन जानकार भए पनि कुनै चासो नलिएको स्थानीयको गुनासो छ । ‘हात्ती दिनहुँजसो आउँछन्, कतिबेला घर–टहरा भत्काइदिने हो टुङ्गो हुँदैन, हामी रातभर जाग्राम बस्नैपर्छ’ –भण्टाबारीस्थित रेल्वे टोलका कलमुद्दीन मियाँले भने । साँझको ७–८ बज्यो कि हात्ती गाउँमै आइपुगेको हुन्छ । कोशीटप्पु वन्यजन्तु आरक्ष र प्रहरीलाई खबर गरे पनि समयमा आउँदैनन् । ‘स्थानीय नेपाल प्रहरी र सशस्त्र प्रहरी ढिलो भए पनि आइपुग्छन् तर पटक–पटक फोन सम्पर्क गर्दा आरक्ष कार्यालयका कर्मचारीको फोन उठ्दैन । फोन उठे पनि आरक्षका कर्मचारी आउँदैनन्’ –मियाँले थपे ।
स्थानीयबासी र सुरक्षाकर्मी हात्ती धपाउने उपायका बारेमा जानकार नहुँदा कतिपय अवस्थामा हात्ती रिसाउने र मानवीय क्षतिसमेत गर्दै आएको छ । आरक्ष कार्यालयका वार्डेन रामदेव चौधरीसहितका कर्मचारीहरूले हात्ती आतङ्क रोक्नुको साटो विभिन्न शीर्षकमा आएको बजेट दुरुपयोग गर्दै आएको स्थानीयले गुनासो गर्दै आएका छन् ।
सोलार तारले घेराबारा गरिएको भनिए पनि गाउँलेहरूले त्रासमा दिन बिताउने गरेको स्थानीय जगदीश कामैत बताउँछन् । साँझ परेपछि हात्ती खेदाउनमै रात बित्ने गरेको उनले गुनासो गरे । हात्ती आतङ्कबाट सर्वसाधारण आजित भइसकेको भन्दै कामैतले आतङ्क रोक्न माग गरे । आरक्षभित्रबाट गाउँ पस्ने हात्ती र अर्नाको समूहले अन्नबालीमा क्षति पु¥याउनुका साथै मानवीय क्षतिसमेत गर्दै आएको छ । हतारमा गरिएको घेराबाराले बजेट सक्ने काम मात्र भएको कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले बताए । ‘कोशी टप्पुबाट हात्ती दिनहुुँ मानव बस्ती पस्छ, फोन गर्दा फोन पनि रिसिभ गर्दैनन् वार्डेन र आरक्षका कर्मचारीले’ –उनले भने ।
नियमित गाउँ पस्ने हात्तीको समूहलाई सर्वसाधारण आफैले लखेट्ने गरेका छन् । जनावर आतङ्क रोक्न कोशी गाउँपालिका सहकार्य गरेर जान तयार भए पनि वर्तमान आरक्ष प्रशासनको दम्भका कारण त्यो सम्भव नभएको अध्यक्ष अन्सारीले गुनासो गर्दै आएका छन् । सङ्घीय र प्रदेश सरकार तथा सांसद् कोषबाट विद्युतीय तारबारका नाममा हात्ती, अर्नासहितका जङ्गली जनावरलाई मानव बस्तीमा पस्न नदिन गरिएको करोडौं खर्च उपलब्धिहीन देखिएको छ । विद्युतीय तारबारका नाममा आएको बजेट वार्डेन चौधरीले अनियमितता गरेको आरोप लाग्दै आए पनि वार्डेन चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।