फत्तेपुर / सप्तरीको सप्तकोसी नगरपालिकामा भएको कोराना महामारी रोकथाम तथा नियन्त्रण, औषधी खरिदलगायतका शिर्षकमा भएको खर्च विवरण ७ दिनभित्र सार्बजनिक गर्ननेपलाी काङ्ग्रेसले अल्टिमेटम दिएको छ ।

विहिवार नेपाली काङ्ग्रेस नगर कार्य समिति सप्तकोशीले नगरपालिकामा ज्ञापन पत्र वुझाउदैं यस्तो अल्टिमेटम दिएको हो ।
नेपाली काङ्ग्रेस नगर सभापति रमेश कार्कीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा सात दिनभित्र माग भए वमोजिमको विवरण उपलब्ध नभए नगरपालिका विरुद्ध विरोध कार्यक्रम संचालन गर्न वाध्य हुने चेतावनी समेत दिईएको छ ।

‘‘विश्व महामारीको रुप लिएको कोरोना भाईरसको महामारीमा सप्तकोशी नगरपालिकाले आरडिटि टेस्ट, पिसीआर टेस्ट, क्वारेन्टाईन तथा राहत वितरण लगायत अन्य प्रयोजनमा संक्रमणको सुरुदेखि असार मसान्तसम्मको खर्च विवरण तथा आव ०७६र०७७ मा स्वास्थ्य चौकी लगायतको मागमा खरिद गरिएको औषधी तथा स्वास्थ्य सामग्री खरिदको विरण ७ दिनभित्र उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछौं।’–ज्ञापन पत्रमा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरी, नेपाली कांग्रेस जिल्ला कार्य समिति र नेपाली कांग्रेस विपी स्मृति भवन काठमाण्डौंलाई वोधार्थ दिईएको ज्ञापन पत्रमा सामाजिक सुरक्षा भत्ता समेत समयमा उपलब्ध नगराएको र कोरोना नियन्त्रण र क्वारेन्टाइन ब्याबस्थापनलगायतमा ब्यापक अनियमितता भएको उल्लेख गरिएको छ ।