- धनबहादुर पुरी
इटहरी / सिंहदरबारको अधिकार गाउँ–गाउँमा आउँछ भन्ने आशा बोकेका इटहरीका होटल व्यवसायी केशव गिरीलाई जनप्रतिनिधिप्रति पनि चित्त बुझेको छैन । देशभर चर्चित इटहरीका जनप्रतिनिधि इटहरीमै हराएको बताउँछन् गिरी ।
इटहरी–६ मा रहेको त्रियुगा होटलबाट नेपाल टेलिकमसम्म जानेबाटोको हालत हेर्ने जो कोहीलाई इटहरीमा जनप्रतिनिधि नभएको भान हुन्छ । व्यवसायी गिरी भन्छन्, ‘इटहरीको मुख्य चोकका खाल्डाखुल्डी जनप्रतिनिधिले कहिल्यै देखेनन् ।’ मुख्य सडकको हालत बेहाल हुँदा पनि स्थानीय सरकारले वास्ता नगरेको भन्दै उनी दुःखेसो गर्छन् ।
टेलिकम छिर्ने बाटोमा कम्तिमा ३० वटाभन्दा बढी साना–ठूला खाल्डाखुल्डी छन् । धुलोमा धुलाम्मे र हिलोमा हिलाम्मे हुने गरेको छ । अधिकांश ठाउँमा सडक भताभुङ्ग भएका छन् । कच्ची सडकहरू भत्किएपछि सर्वसाधारणलाई आवत–जावत गर्न कठिन बन्दै गएको सर्वसाधारण बताउँछन् ।
इटहरी उपमहानगरपालिका क्षेत्रका चौतर्फी सडकसँगै मुख्य राजमार्गको अधिकांश ठाउँमा खाल्डाखुल्डी परेको कारण दैनिक दुर्घटनाको जोखिम बढेको छ । सामान्य पानी पर्दा पनि सडक हिलाम्मे हुने भएको कारण सडकमा सर्वसाधारणलाई आवत–जावतमा समस्या हुने गरेको छ भने सवारीसाधन सञ्चालनमा समेत समस्या भएको बताउँछन् । इटहरीका स्थानीय बासिन्दा ईश्वर ओझा । उनी भन्छन्, ‘इटहरी चोक आसपासकै सडकमा हिँड्न समस्या भएको छ ।’
वर्षैपिच्छे सडक मर्मत हुन्छ अनि केही दिन बित्न नपाउँदै सडकको अवस्था दयनीय बन्दै जाने गरेको कारण जहिल्यै समस्या हुने गरेको छ । इटहरी चोकबाट बसपार्क जाने बाटोको अवस्था जहिल्यै ज्यूँका त्यूँ हुने गरेको स्थानीय बताउँछन् । अहिले इटहरीको बीपी चोकबाट बसपार्क जाने बाटोमा ठूला–ठूला खाल्डो भएका कारण दुर्घटनाको जोखिम बढेको मोटरसाइकल चालक गैसारका राजन चौधरी बताउँछन् । आफूहरू दैनिक काममा इटहरी चोक आउँदा बीपी चोकमा ठूलो समस्या हुने गरेको उनी बताउँछन् ।
समयमै सडक मर्मत नहुँदा इटहरीको मुख्य चौक आसपासमै ठूला–ठूला खाल्डाखुल्डीले गर्दा व्यवसायमा समेत असर परेको व्यवसायीहरू गुनासो गर्छन् । इटहरी बसपार्क जाने बाटोका स्थानीयवासी रविन्द्र काफ्लेले बाटो मर्मत नहुँदा बर्सेनि समस्या भइरहेको बताए । ठूला खाल्डाखुल्डीले रातको समयमा दुर्घटनाको जोखिम बढेको उनी बताउँछन् ।
इटहरी क्षेत्रका खाल्डाखुल्डी भएका सडकलाई मर्मत गर्न स्थानीयले माग गरेका छन् । पछिल्लो एक वर्षमा खाल्डाखुल्डी सडकलाई मर्मत नगरेको भन्दै स्थानीयले विरोध गर्न थालेका हुन् । पछिल्लो समयमा इटहरी चोक आसपासमा खाल्डाखुल्डीको सङ्ख्या बढेको छ । खाल्डाखुल्डी सडकलाई मर्मत गर्न स्थानीयले माग गरेका छन् ।