धरान । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा आज धरान उपमहानगपालिकामा बसेको कार्यपालिकाको बैठकमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले बजेट सिलिङको विषयमा असुन्तुष्ट हुँदै बैठक बहिस्कार गरेका छन् ।

कार्यपालिका बैठक बसिरहेको समयमा वडाको विकास बजेटको सिलिङ दिइएपछि कांग्रेसका वडाध्यक्षहरूले बजेट घटेको भन्दै भाँडभैलो मच्चाएका छन् । चालू आर्थिक वर्षमा २२ करोड ४० लाख रुपैयाँ वडाको विकास बजेटको सिलिङ रहेको थियो । तर आगामी वर्षको नीति तथा कार्यक्रमका लागि वडाको विकास बजेट सिलिङ २० करोड रुपैयाँ मात्रै बनाइएपछि कांग्रेसका वडाध्यक्षहरूले बैठक बहिस्कार गरेका हुन् ।

एक वडाध्यक्षका अनुसार बजेट सिलिङ घट्यो भनेर कांग्रेसका वडाध्यहरूले आफूहरूलाई मान्य नहुने भन्दै बैठकमा अश्लील शब्दहरू बोल्दै बैठक बहिस्कार गरेका थिए । त्यसपछि नेकपा निकटका वडाध्यक्षहरूले पनि बैठक बहिस्कार गरेको उनले बताए । हिजो मात्रै नेकपाबाट निर्वाचित १३ वटा वडाका वडाध्यक्षहरूले बजेट सिलिङको माग गरेका थिए ।

धरान–१ का वडाध्यक्ष रोशन अधिकारीलाई यसबारेमा बुझ्दा बजेट सिलिङको विषयमा चित्त नबुझेपछि कुरा उठाएको बताए । उनले भने, ‘हो मैले नै कुरा उठाएको थिएँ, बजेट सिलिङ चित्त बुझ्दो आएन ।’