धरान/ ‘साहित्य सङ्गीत कलाविहीनः साक्षात्पशुः पुच्छविषाणहीनः ।।’

संस्कृत कवि भर्तृहरि रचित ‘नीति सतकम्’ मा उल्लेखित यो श्लोकको अर्थ हो, ‘साहित्य, सङ्गीत र कलाबिनाको मानिस सिङ र पुच्छर नभएको पशु हो ।’

एक हजार वर्षभन्दा पहिले लेखिएको यो श्लोकले साहित्य, सङ्गीत र कलाले नै मान्छेलाई वास्तविक अर्थमा ‘मान्छे’ बनाएको प्रष्ट पार्छ । कला, साहित्यले नै मान्छेको पहिचान झल्काउँछ र मान्छेलाई संवेदनशील बनाउँछ । त्यसैले समाजको विकासमा यसको ठूलो महत्व रहन्छ तर यसपटक विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले साहित्य, सङ्गीत र कलाका गतिविधि ठप्प बनाइदियो । अर्थात् मानिसलाई ‘सिङ र पुच्छर नभएको ‘पशु’ बनाइदियो ।

यसबाट साहित्य, सङ्गीत र कला क्षेत्रमा सक्रिय धरानको समाज विकासको गतिसमेत अवरुद्ध भएको छ । कोरोना भाइरस (कोभिड–१९) को आतङ्क नभएको भए धरानका गायक एपी शेर्पा यतिबेला देश–विदेशका साङ्गीतिक कार्यक्रममा व्यस्त हुने थिए । धरानमै रहेर सङ्गीतकर्म गर्दै आएका शेर्पा हरेक सालजसो नयाँ वर्ष, ल्होसारजस्ता अवसरमा गाउनका लागि विदेश पुग्ने गर्थे । यसपालि पनि २०७७ वैशाख १ गते हङ्कङमा उनको कार्यक्रम थियो तर कोभिड–१९ का कारण स्थगित भयो ।

त्यसबाहेक नेपालका चारवटा कार्यक्रममा सहभागी हुने, एकसाथ तीनवटा एल्बम् निकाल्ने उनको तयारी थियो । कोरोनाकै कारण यी सबै काम स्थगित भए । ‘आर्थिक हिसाब गर्ने हो भने त यो साल करिब ५ लाख घाटा भयो’ शेर्पा भन्छन्, ‘त्योभन्दा पनि महŒवपूर्ण चाहिँ कामका योजनाहरू रोकिए ।’

कलाकार तथा निर्देशक प्रेम सुब्बाको कार्यतालिकाअनुसार यतिबेला उनी तेह्रथुम, ताप्लेजुङतिर फिल्म छायाङ्कनका लागि व्यस्त हुनुपर्ने हो । लिम्बू संस्कृतिमा आधारित उनले निर्माण गर्न लागेको नयाँ फिल्म ‘तमर खोले’ का लागि गुराँस फुलेको र पतझडको दृश्य आवश्यक थिए । त्यसका लागि उनले वैशाख अन्तिमदेखि जेठ पहिलो हप्तासम्म छायाङ्कनको कार्यतालिका बनाएका थिए । उनको फिल्म कहिले शुरु हुने हो, कोरोनाका कारण टुङ्गो छैन ।

उपेन्द्र सुब्बाद्वारा निर्देशित प्रेमले अभिनय गरेको फिल्म ‘जारी’ को प्रदर्शन मिति जेठ २३ गते निर्धारण गरिएको थियो तर कोरोनाका कारण फिल्मको प्रदर्शन पनि रोकियो । आपूmले मिहिनेत गरेको फिल्म प्रदर्शन हुन नपाउँदा तनाव भएको उनी बताउँछन् । उनी भन्छन्, ‘फिल्म हलहरू बन्द छन्, फिल्ममेकरहरू घाटामा छन् । आपूmले गरेका काम बाहिर नआउँदा सिर्जनात्मकता पनि मर्दो रहेछ ।’

धरानको कलाकारिताका प्रतिनिधिपात्र गायक शेर्पा र कलाकार सुब्बाका भनाइले कोभिड–१९ बाट धरानको कलाकारिता क्षेत्र आक्रान्त भएको प्रष्ट बुभ्mन सकिन्छ । कोभिड–१९ ले कलाकर्मीहरूलाई व्यक्तिगत रूपमा मात्र होइन, समग्र धरानको कला, साहित्य र संस्कृतिमा समेत नकारात्मक प्रभाव पारेको छ । धरानमा हरेक साल नयाँ वर्षको स्वागतमा ठूला साङ्गीतिक कार्यक्रमहरू हुने गर्थे ।

यसपटक पनि ‘मेघा लाइभ कन्सर्ट’, ‘न्यू इयर कन्सर्ट’ लगायतका कार्यक्रमको तयारी थियो । कोभिड–१९ का कारण यस्ता कार्यक्रमहरू हुन सकेनन् । त्यसो त धरानमा सञ्चालित रेष्टुरेण्ट, लाउञ्जहरूमा साङ्गीतिक प्रस्तुति दिने ३० भन्दा बढी गायक तथा वाद्यवादकले रोजगारी गुमाएका छन् । धरानमा ठूला साङ्गीतिक कार्यक्रमहरू आयोजना गर्दै आएको सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ भन्छन्, ‘कोरोनाका कारण साङ्गीतिक गतिविधि रोकिँदा यहाँका कलाकार र कलाक्षेत्रलाई नकारात्मक असर परेको छ ।’

धरानमा नृत्य कलाकारहरू उत्पादन गर्ने ‘डान्स सेण्टर’ हरू एक दर्जनजति छन् । तिनमा दैनिक नृत्य सिक्नेहरूको सङ्ख्या पाँच सय हाराहारीमा छ । कोभिड–१९ का कारण सेन्टरहरू बन्द हुँदा नृत्य सिक्नेहरूले सिक्न पाएका छैनन् भने सेण्टरहरूलाई लाखौँ रुपैयाँ घाटा भएको छ । यिनै सेण्टरहरूका प्रशिक्षकले धरानका अधिकांश निजी विद्यालयहरूमा नृत्य सिकाउने गर्थे । अहिले उनीहरूको रोजीरोटी पनि गुमेको छ । गरिमा डान्स सेण्टरकी प्रोप्राइटर सञ्जु राई भन्छिन्, ‘डान्स सेण्टरहरूलाई तीन महिनामा लाखौँ घाटा भएको छ । अहिले भाडा तिर्न पनि मुस्किल परेको छ ।’

कला, संस्कृति र साहित्यको लामो इतिहास बोकेको धरानले धेरै कलाकार र साहित्यकारहरूलाई जन्माएको छ । कला, संस्कृति र साहित्यका सार्वजनिक कार्यक्रमहरूबाटै यी क्षेत्रमा नयाँ पुस्ताको आकर्षण बढ्ने हो, नयाँ कलाकार र साहित्यकारको जन्म हुने हो तर यसपटक कोभिड–१९ को प्रभावले त्यस्ता सार्वजनिक कार्यक्रम हुन नसक्दा कलाकारिताको गति अवरुद्ध भएको छ ।

सांस्कृतिक गतिविधिमा समेत सक्रिय धरानमा वैशाख पूर्णिमाको अवसरमा उँभौली पर्व भव्यरूपमा मनाइन्थ्यो । राई समुदायले साकेला र लिम्बू समुदायले चासोक तङ्नाम विशेष उत्सवका रूपमा ठूला सार्वजनिक कार्यक्रमसहित मनाउने गर्थे तर यसपटक विभिन्न समुदायले आप्mना संस्कृतिहरू घरभित्रै सीमित गर्नु प¥यो । बर्सेनि विस्तार भइरहेका सांस्कृतिक गतिविधिहरू खुम्चिए । आर्थिक रूपमा देश जति धनी भए पनि कला–साहित्यको विकासबिना समृद्ध बन्न सक्दैन ।

सामूहिक रूपमा गरिने कला, साहित्य र संस्कृतिका कार्यक्रम कोरोनाकै कारण हुन नसक्दा नेपाली समाजलाई घाटा भएको छ । जातीय संस्कृतिको विकासमा यसबाट नकारात्मक प्रभाव परेको छ । धरान उपमहानगरपालिकाले यो वर्ष कला, साहित्य र संस्कृतिका लागि धरान प्रज्ञा–प्रतिष्ठानमार्फत् ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो । प्रतिष्ठानले यो वर्ष ११ वटा कार्यक्रम गर्ने तयारी गरेकोमा तीनवटा कार्यक्रम मात्र गर्न सकेको सदस्य–सचिव हर्क चुम्मे बताउँछन् । उनका अनुसार ५० लाखमध्ये करिब ८ लाख रुपैयाँमात्र खर्च भएको छ ।