भद्रपुर । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक स्थल किचकबधको नवौँ पटकको उत्खनन्सम्म आइपुग्दा ३० प्रतिशत मात्र प्रगति भएको छ । बजेट अभावका कारण उत्खनन्ले गति लिन नसक्दा वास्तविक तथ्य पत्ता लाग्न नसकेको पाइएको हो ।
किचकबधको उत्खनन् विभिन्न सालहरूमा चरणबद्ध रूपमा हुँदै आएको छ । यसको उत्खनन् २०३५ सालमा पहिलो सुरुवात भद्रपुरस्थित मेची क्याम्पसको इतिहास विभागले प्राध्यापक घनश्याम खनालको नेतृत्वमा सुरु गरेको थियो । यस उत्खनन्मा प्राचीन माटाका घैला र इँटाहरू फेला परेपछि पुरातत्व विभागले यो क्षेत्र आफ्नो मातहतमा लिएको थियो । २०५८ सालमा पुरातत्व विभागले पहिलोपटक आधिकारिक रूपमा पुरातत्वविद् उद्धव आचार्यको नेतृत्वमा उत्खनन् कार्य अघि बढाएको थियो । २०५८ सालदेखि हालसम्म बजेट र समयको उपलब्धता अनुसार विभिन्न वर्षहरूमा यहाँ पटक–पटक गरी ९ औँ चरणसम्मको उत्खनन् कार्य भइसकेको छ ।
२०८० (आठौँ चरण) (फागुन÷चैतमा गरिएको उत्खनन्मा यहाँ प्राचीन ८ कोठाको दरबारको जग र पर्खालहरू फेला परेका थिए । २०८३ को नवौँ चरण जेठ ३० मा उत्खनन् कार्य पुरातात्विक टोलीले सम्पन्न गरेको छ । हालसम्म उत्खनन्बाट माटाका भाँडाकुँडाहरू, माटाका टायल्स, घोडा र हात्तीले घाँटीमा लगाउने विड्सहरू, माटोका सजावटका सामान, दियो, जार, थाल कचौरा र मिसाइल आकारका माटाका वस्तुहरू फेला परेको पुरातŒवविद् आचार्यले बताए । भवनका भग्नावशेष, सुरक्षा चौकी, कालखण्डमा जडित इँटाको गारोजग, पोलिएका इँटा फेला परेको उनले बताए । किचकबधमा उत्खनन्बाट घोडा बाँध्न प्रयोग गरेको तबेला भवन, सुरक्षापोष्टलगायत विभिन्न प्रकारका वस्तुहरू फेला परेको उनले जनाए ।
विभागले गरेको उत्खनन्मा तबेला जस्तो देखिने २१ दशमलव २० मिटर लम्बाइ र १६ दशमलव २० मिटर चौडाइको एकतले भवनको संरचना पाइएको छ । त्यस्तै त्यतीखेरको समयमा पनि सुरक्षाप्रदान गर्ने उद्देश्यले बनाइएको सुरक्षापोष्ट आकारको संरचनासमेत फेला परेको छ । उत्खनन्मा जस्तै इँटाका आकार र दिवालको चौडाइ पाइएको छ । तबेलाबाट पानी बग्ने इँटाकै डिपिसिमा नाली पनि बनाइएकोे पाइएको छ । उत्खनन्मा पुरानो बहुतले दरबारको भग्नावशेष र एउटा एक तले भवनको भग्नावशेष पाइएको थियो । यी दुइवटा संरचनामा ढुङ्गा र माटाका भाँडाकुँडाहरू, ढुङ्गाका थालहरू, माटाको सुराही, बाण, स्टीलका भाँडाकुँडाहरू, नागको मूर्ति, फलामको चक्कु आदि फेला परेका थिए ।
यी दुइवटा संरचनामध्ये ६७ फुट चौडा र ७१ फुट लम्बाइको १२ वटा कोठा र एक चोक भएको एकतले भवनको संरचनालाई संरक्षण गरिसकिएको छ । पीपलका रुख र घर टहरासमेत भत्काउनु पर्ने उनले जनाएका छन् । उत्खनन्मा फेला परेका वस्तुहरूको कार्बन डेटिङ परीक्षणबाट यो स्थल करिब २२ सयदेखि २३ सय वर्ष पुरानो (ईशापूर्व दोस्रो शताब्दीको शुङ्ग–कुषाणकालीन सभ्यता) भएको प्रमाणित भइसकेको पुरातŒवविद् आचार्यले बताए । उत्खनन् कार्य ३० प्रतिशत मात्र भएकोले करिब १ करोड बजेट भएमा उत्खनन् कार्य सम्पन्न हुने उनले बताए ।
झापाको सदरमुकाम चन्द्रगढीदेखि १० किलोमिटर दक्षिण मेची र देवनिया नदीको दोभानदेखि करिब १ किलोमिटर पश्चिम भद्रपुर नगरपालिका–२ र ३, पृथ्वीनगरको पूर्वी कुनामा अवस्थित प्राचीन ग्रन्थ महाभारतमा उल्लेख भएको स्थल नै किचकबध हो । महाभारतमा उल्लेख भएअनुसार विराट राजाको सालो किचकले कुदृष्टि राखी पाण्डव पत्नी द्रौपदीको सतित्व लुट्न खोज्दा बलवान् पाण्डुपुत्र भीमसेनले राक्षसी रूप लिएका किचकको बध गरी द्रौपदीको इज्जत र सम्मान जोगाएपछि यस ठाउँको नाम किचकबध रहेको इतिहास छ । यो समुद्र सतहदेखि ८५ मिटर अग्लो स्थानमा रहेको छ । यसको भौगोलिक स्थिति केही अग्लो स्थानमा करिब १० बिघा क्षेत्रफलको डाँडो आकारको केही भिरालो जमिनमा अवस्थित छ । किचकबधको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले २०३३ सालबाट उत्खनन् सुरु गरिएको इतिहास छ ।
किचकबध क्षेत्रको संरक्षण गर्ने, भौतिक एवम् पर्यटकीय संरचना निर्माण गर्ने, सांस्कृतिक धरोहरहरूको निर्माण एवम् पुनः निर्माण गर्ने, ऐतिहासिक खोज एवम् पुराताŒिवक अन्वेषण सम्पन्न गर्ने र किचकबधलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन प्रचारात्मक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अगाडि लिएर आएको संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए ।
किचकबधलाई परिचित गराउनको लागि २०६५ साल माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी ब्रतको समाप्तिको अवसरमा लाग्ने ३ दिने मेलाको सुरुवात भएको उनले जानकारी दिए । मेलामा नेपालका मात्र नभई भारतको पश्चिम बङ्गाल, विहार र आसामबाट समेत यस क्षेत्रको दृश्यावलोकन गर्न आउने गरेको पूर्व गाविस सचिव मदनकुमार कँडेल बताउँछन् । यो स्थान महाभारतकालको अर्थात् करिब २ हजार वर्ष पुरानो हुनसक्ने उनले बताए । शुङ्गकालमा विकास भएको यस स्थलको कुषाणकालसम्म प्रगति भएको देखिन्छ भने पाँचौं शताब्दीमा यस भेगमा आएको ९ रेक्टरस्केलभन्दा ठूलो भूकम्पका कारण यो स्थल ध्वस्त भएको अनुमान गरिएको छ ।
किंवदन्ती अनुसार हालसम्मका उत्खनन् र यस स्थलको अवस्था हेर्दा मेची नदी पारिको भारतीय क्षेत्र गलगलिया, भातगाउँ, ठाकुरगञ्ज, किसनगञ्जको स्थललाई केन्द्रविन्दु बनाएर प्र्राचीनकालमा कुनै न कुनै शासकको दरबार वा मजदुर किल्ला थियो भन्ने अनुमान गर्न सकिने भद्रपुर नगर प्रमुख गणेश पोखरेल बताउँछन् । किचकबधको प्रवेशसँगै हाल आएर विशाल सामुदायिक भवन, पाटीपौवा, खानेपानी, भीमले किचकलाई बध गरेको सिमेन्टको मूर्ति, गङ्गा–जमुनाको मूर्ति, पुरानो कुवा, शिवालय, नजिकै सानो तीनकुने वारुणी वा भीमसेन पोखरी रहेको उनले बताए । योजना तथा कार्यक्रमहरू समय–समयमा सञ्चालन गर्दै आइरहे तापनि दिगो आम्दानीका स्रोत नभएकोले तोकिएका लक्ष्यहरू हासिल गर्न निकै गाह्रो भएको वडानम्बर २ का अध्यक्ष रामबहादुर कँडेल बताउँछन् ।
यस ठाउँमा भीमसेनले किचकलाई बध गरेपछि परापूर्वकालदेखि नै भक्तजनहरू आफ्नो दोष र रगतका दाग मेटाउन संरक्षण गरिएको पोखरीमा पूजापाठ गर्नुकासाथै नुहाउने चलन छ । त्यही परम्पराअनुसार देश तथा विदेशबाट हजारौँको सङ्ख्यामा आउने भक्तजनहरू पोखरी किनारमा आफ्ना दोषहरू मेटाउन, जिउका चर्मरोग निको हुने, सन्तान प्राप्ति हुने विश्वास गरिएको छ । यहाँ हरेक वर्ष स्वस्थानी ब्रतका दिन भव्यरूपमा मेला लाग्ने गर्छ । मेची र देवनिया नदीको सङ्गमस्थल पश्चिमपट्टिको चियाबारी धेरै किसिमका प्राकृतिक दृश्यहरूको कारणले गर्दा पहिरो, प्रेममा बलिदान जस्ता नेपाली चलचित्र तथा गीतहरूको छायाङ्कन र विभिन्न क्षेत्रबाट वनभोज खान आउनेहरूको घुइँचो लाग्ने गर्दछ ।