विजयपुर । कोशी प्रदेश प्रहरी कार्यालयले सञ्चालन गरेको लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट २२ जना पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूबाट १८ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर, ५ सय २ चक्की प्रतिबन्धित औषधि, १ थान मोटरसाइकल, १ थान स्कुटर तथा १ थान सिटी सफारी बरामद गरिएको प्रहरीले जनाएको छ । लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यसहित कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका जिल्ला प्रहरी कार्यालयहरूबाट परिचालित टोलीले विभिन्न स्थानमा चेकजाँच तथा विशेष निगरानी अभियान सञ्चालन गरेको थियो ।
झापामा वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड–६ का देवेन्द्र बिकलाई १ ग्राम ४ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । त्यस्तै, दमक–३ का विकास भुजेल र भद्रपुर–७ की सरिता राजवंशीलाई ६ ग्राम ९० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड–३ का गणेश प्रसाद ओलीलाई ३ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने बिर्तामोड–४ का चार्ल्स लिम्बु र उमेश लिम्बुलाई ३ ग्राम ९ सय मिलिग्राम गाँजासहित पक्राउ गरिएको छ । प्रहरी चौकी धरमपुरले शिवसताक्षी नगरपालिका–२ का वीरगञ्ज आङदम्बेलाई स्पारेष्ट १ सय ट्याब्लेट र ट्रामाडोल १ सय ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ ।
सुनसरीमा कोशी प्रदेश प्रहरी टोली तथा इलाका प्रहरी कार्यालय धरान, इटहरी र चतराको संयुक्त टोलीले बराहक्षेत्र–१ का योगेश न्यौपानेलाई स्पास्मो २ सय ९० चक्की र कोरेक्स एक बोतलसहित पक्राउ गरेको छ । धरान–२० का विक्रम उदासलाई २ ग्राम २ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । यस्तै, इटहरीका मोहन परियार, सुमन पासवान, दीपेश राना मगर तथा सक्षम केसीलाई २ सय मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले धरान–१७ का प्रकाश राईलाई ६४ किलोग्राम गाँजासहित पक्राउ गरेको छ । साथै, सप्तरीको कञ्चनरूप–९ का शिवनारायण महत्तोलाई नाइट्रोजन नामक प्रतिबन्धित औषधिको १२ चक्कीसहित तथा प्रदीप यादवलाई १ ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । धरान रेलवे क्षेत्रबाट बेवारिसे अवस्थामा रहेको ३२ किलोग्राम गाँजा पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
मोरङमा कोशी प्रदेश प्रहरी टोली र इलाका प्रहरी कार्यालय रानीले कटहरी–३ का कमल रामलाई ५९० मिलिग्राम, दुहबी–८ का सन्दीप कार्कीलाई ४ सय ६० मिलिग्राम तथा पथरीशनिश्चरे–८ का शंकर माझीलाई ७ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । प्रहरी चौकी कर्सियाले धनपालथान–४ का गोपाल सहनीलाई ८ सय मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ । साथै, लागूऔषध दुर्व्यसन तथा कारोबार नियन्त्रणका लागि सचेतना कार्यक्रम र कानुनी कारबाहीलाई थप प्रभावकारी बनाइने प्रहरीले उल्लेख गरेको छ ।