धरान । ६ जनाको ज्यान जाने गरी रुकुम पश्चिमको चौरजहारीको घटनाको सत्यतथ्य प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै धरानमा स्वतस्फूर्त रूपमा आन्दोलन सुरु भएको छ ।

धरानको भानुचौकमा बुधबार विभिन्न संघसंस्था तथा राजनीतिक दलका नेता कार्यकताहरू उपस्थित हुँदै चौरजहारी घटना बङ्ग्याउने प्रयास भएको भन्दै सरकारलाई सचेत गराएका छन् । नेपाली कांग्रेसका नगर सचिव युवराज शंकरले सोती घटनाको सत्यतथ्य प्रतिवेदन सार्वजनिक गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरे ।

त्यस्तै दलित संघका सुनसरी जिल्ला सचिव विजय अछामीले घटनामा मृतकहरूको पोष्टमार्टम चित्त बुझ्दो गरी नआएकाले पुनः पोष्टमार्टम गरेर जानु पर्ने बताए । उनले घटनालाई फरक तरिकाले व्याख्या गरिन लागेको भन्दै आपत्ति प्रकट गरे ।

कर्यक्रममा दलित शिल्पी मञ्चका केन्द्रीय अध्यक्ष रमेश गजमेर, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य विष्णु थाम्देन, मंगोल नेशनल अर्गनाइजेसनका दिवस वान्तवा, सामाजिक अगुवा हर्क साम्पाङ, दलित संघका सदस्य गणेश परियारलगायतले दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । उनीहरूले आन्दोलनलाई कमजोर रूपमा लिएर सशक्त आन्दोलन गर्नेसमेत चेतावनी दिए ।

dalit_dharan_protest (1)

तस्बिरः ललित राइ

चौरजहारी घटनामा नवराज विकसहित ६ जनाको ज्यान गएको थियो । विकले मल्ल थरकी युवतीसँग प्रेम गरेकै कारण हत्या गरिएको प्रतिवेदनहरू सार्वजनिक भइरहेका छन् । घटनाका विषयमा गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानबिन समितिसमेत बनेको थियो । अहिले उक्त घटनामा वडाध्यक्षसहितलाई पक्राउ गरिसकिएको छ ।