धरान । रुकुम पश्चिमको चौरजहारीको सोती घटना जातीय विभेदको कारणले नै निम्तिएको राष्ट्रिय दलित पत्रकार संघले निश्कर्ष निकालेको छ ।

संघले शनिबार साँझ जारी गरेको अध्ययन प्रतिवेदनमा जौरजहारी घटनाको जड अन्तरजातीय प्रेमका कारण नै हत्याको कारण बनेको उल्लेख छ । प्रतिवेदनको निश्कर्षमा भनिएको छ,–‘अध्ययन टोलीको बृहत् छलफल तथा अन्तरक्रियाका आधारमा सोती हत्याकाण्ड जातीय विभेदको पराकाष्ठ भएको ठहर गरेको छ ।’

समितिले केही दिन स्थलगत गरेको अध्ययन, अन्तरक्रिया, तथा छलफलबाट हत्याका कारणहरू खोजी गरेको थियो । घटनाको जड अन्तरजातीय प्रेमसम्बन्धले निम्त्याएको संघका जिल्ला अध्यक्ष दिनेश गजमेरले जनाए । उनले भने, ‘स्पष्ट भनेको छ, विभेदका कारणले हत्या भएको हो र मानव अधिकार आयोगको पनि प्रतिवेदन पनि सार्वजनिक भइसकेको छ । आयोगको प्रतिवेदनले पनि विभेदकै कारणले घटना भएको हो भनेर भनिसकेको छ ।’

सामूहिक हत्यामा संलग्नलाई हदैसम्मको दण्ड दिनका लागि समितिले माग गरेको छ । घटनामा हत्या गरिएका नवराज विकसहित ६ जनालाई नै ‘साँस्कृतिक सहिद घोषणा’ गर्नुपर्ने मागसमेत गरिएको छ । संघले जेठ २१ ग्तेदेखि २७ गतेसम्म घटनाको अध्ययन गरेको थियो । घटना भने जेठ १० गते भएको थियो । घटनामा संघका संयोजक गोपाल बराइली, अधिवक्ता बद्रिप्रसाद भुसाल, पत्रकार संघका भीम घिमिरे, समता फाउण्डेशनका गोपाल नेपाली र पत्रकार संघकै चिन्ता परियारको टोलीले अध्ययन गरेको हो ।

टोलीले केही सुझावसमेत पेश गरेको छ । घटना सुनियोजित तरिकाले भएकाले घटनाको गहन तरिकाले अनुसन्धान गरिनुपर्ने सुझाव पेश गरेको छ । त्यस्तै जातीय विभेगदका कारण हुने हत्या, हिंसाविरुद्ध सबै राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाजको एकीकृत पहलकदमीको आवश्यकता रहने सुझाव पेश गरिएको छ ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकारले रणनीतिक योजना तथा कार्यक्रमसहित अन्तरजातीय प्रेम तथा विवाहलाई सामाजिक मान्यता दिने किसिमको कार्यक्रम गर्नुपर्ने सुझाव दिएको छ ।त्यस्तै अन्तरजातीय प्रेम एवम् ववाहको मुद्दामा विद्यमान कानूनी व्यवस्थामा पुनरावलोकन गर्नका लागि तत्काल पहल गरिनुपर्ने माग गरिएको छ ।