विराटनगर/जोगबनीबाट नेपाल भित्रिनेभन्दा पनि भारतीय नागरिकहरू बिहार प्रवेश गरी भारतका अन्य सहरसम्म पुग्नेको दर बढी देखिएको छ । दुई सातामा भारतबाट १ हजार ७ सय २९ जना नेपाली नागरिक नेपाल आउँदा नेपालबाट २ हजार ४ सय २४ जना भारतीय नागरिक भारत गएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले दिएको जानकारी अनुसार जेठ १३ देखि २७ गतेसम्म भारतबाट नेपाल आएका १ हजार ४ सय ७५ जना पुरूष र २ सय ५४ जना नेपाली महिला रहेका छन् । यस्तै नेपालबाट भारत जाने १ हजार ९ सय २० जना पुरुष र ५ सय ४ जना महिला रहेको डिएसपी राईले बताए ।

नेपाल फर्कनेभन्दा विराटनगर–जोगबनी हुँदै भारततिर फर्कनेको संख्या बढी देखिएको हो । सीमा सिल भई लामो समय बितेपछिको पछिल्लो दुई साताको तथ्यांकले जोगबनी भएर नेपाल आउनेभन्दा पनि भारत जानेको संख्या धरै देखाएको डिएसपी राईले बताए ।

प्रदेश १ सरकार, जिल्ला प्रशासन कार्यालय मोरङ र सुरक्षा सक्रियतामा नेपालीलाई उद्धार गरी स्वदेश भित्र्याउने काम चलिरहेको छ । नेपालमा अलपत्र परेका र देश फर्कन चाहने भारतीयलाई पनि भारतका सुरक्षा निकाय तथा प्रशासनसँगको समन्वयमा पठाउने गरिएको छ ।

भारतका विभिन्न ठाउँबाट जोगबनी सीमासम्म आएका नेपालीहरूलाई नेपाल प्रहरीले समन्वय गरी नेपाल प्रवेश गराएको छ । नेपालका विभिन्न ठाउँमा बसेका भारतीयलाई सुरक्षाकर्मीको समन्वयमा भारततर्फ पठाइएको छ । नेपालतर्फ ल्याइने मानिसहरूलाई होल्डिङ सेन्टरमा राखी सम्बन्धित पालिकातर्फ पठाइने गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको मंगलबार साँझसम्मको तथ्यांकअनुसार मोरङको विभिन्न स्थानमा रहेको क्वारेन्टिनमा १ हजार २ सय ६२ जना बसेका छन् ।