धरान । भारतमा कोरोनाबाट संक्रमित हुने र उपचार भएर ठीक हुनेको संख्या बराबरीको स्थितिमा पुगेको छ । भारतमा कोरोनाको कारणले हालसम्म ७ हजार ७५० जना मृत्यु भइसकेका छन् ।

तर उपचारपछि ठीक हुनेको संख्या र संक्रमितको संख्या बराबरीको स्थितिमा पुगेको हो । कोभिड १९ इण्डिया डट ओराजीका अनुसार २ लाख ७६ हजार ७७९ जनामा कोरोना संक्रमण देखिएको छ । जबकि १ लाख ३४ हजार ६६९ जना उपचारपछि ठीक भएर घर फर्किसकेका छन् । भारतमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ३४ हजार ३४५ जना छन् ।

भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढे पनि उपचारपछि निको भएर घर फर्किनेको संख्याले गर्दा उपचारमा नयाँ क्रान्ति गर्न सफल भएको छ । भारतमा दैनिक ९ हजार भन्दा माथि कोरोना संक्रमित भेटिने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेको तथ्याङ्क छ । तर, उपचार पछि निको भएर फर्किनेको संख्या पनि हाराहारीमा छ । पछिल्लो समय भारतको राजधानी दिल्लीमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । दिल्लीमा मात्रै पछिल्लो २४ घण्टा १ हजार ३६६ जना कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार रातिको तथ्याङ्क अनुसार दिल्लीमा कोरोना संक्रमितको संख्या ३१ हजार ३०९ जना छन् । मृतकको संख्या ९०५ रहेको छ । जसमध्ये ११ हजार ८६१ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।