कर्णाली । भारतबाट नागरिक बोकेको टिपर कर्णाली करिडोर अन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट नजिकैबाट कर्णाली नदीमा खस्दा तीन जनाको ज्यान गएको छ ।

चार जना गम्भीर घाइते बनेका छन् । उनीहरूलाई कर्णाली नदीबाट उद्धार गरिएको छ । ३९ जना यात्रु बकेको टिपर बुधबार बिहान १० बजेर २० मिनेटमा कर्णालीमा खसेको थियो । उनीहरू जितेगडाबाट रास्टकोट नगरपालिकातर्फ जाँदै गरेका थिए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी वसन्त पन्तका अनुसार हालसम्म तीन जनाको मृत्यु भएको खबर आए पनि अन्यलाई उद्धार कार्यमा जुटिरहेका छन् । चार जनालाई नदीबाटै उद्धार गरेर अस्पताल पठाइएको छ । उनले विवरण संकलनकै क्रममा रहेकाले यकिन तथ्याङ्क आउन केही समय लाग्ने जानकारी दिए ।