विराटनगर / प्रदेश १ मा आज मंगलबार ५ जना कोरोना भाइरस संक्रमितको संख्या थप भएसँगै प्रदेशमा २ सय ८२ जना संक्रमित पुगेको छ । मंगलबार इलाम, सुनसरी र मोरङमा थप ५ जना नयाँ संक्रमित थपिएको हो ।
इलाममा पहिलो पटक कोरोनाको संक्रमण देखिएको छ । भारतको चेन्नाईबाट आएका सूर्योदय नगरपालिकाका २६ वर्षीय युवाको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितलाई उपचारको लागि पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइएको बताइएको छ ।
प्रदेश १ मा १४ जिल्लामध्ये १३ जिल्लामा कोरोना संक्रमण देखिएको छ । अब कोरोना संक्रमण नदेखिने जिल्ला ओखलढुङ्गा मात्र रहेको छ । मंगलबार मोरङको रतुवामाईका २ पुरुष, जहदाका १ पुरुष र सुनसरीको बराहक्षेत्रका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । प्रदेशमा मंगलबारसम्म कोरोनामुक्त भई अस्पतालबाट ११८ जना डिस्चार्ज भएका छन् ।
मंगलबारसम्म पिसिआर बिधिबाट १२ हजार ७७२ जनाको र आरडिटी बिधिबाट १३ हजार ६९९ जनाको कोरोना परीक्षण भएको छ ।