• खेवाहाङ मेवाहाङ

संखुवासभा /  संखुवासभामा विद्युत प्राधिकरणले हरियो रुखमा नाङ्गो तार टांगेको छ । खाँदबारी नगरपालिकाको १० नं. वडाको बाघखोरस्थित सामुदायिक वन भित्रको हरियो सालको रुखमा तार टाँगिएको छ ।

एक बर्षदेखि सालको रुखमा राखिएको तारका कारण स्थानीय त्रसित छन् । विद्युत प्राधिकरण खाँदबारी वितरण केन्दमा पटक पटक तार हटाईदिन अनुरोध गर्दा पनि वेवास्ता गरेको खाँदबारी नगरपालिका वडा नं. १० का वडाध्यक्ष केशवराज सिं थापाले बताए । यसरी राखिएको तारका कारण स्थानीयलाई खतरा रहेको उनको भनाई छ ।

विद्युत प्राधिकरणको लापरबाहीका कारणले दैनिक कृयाकलाप गर्न समस्या भएको उनको भनाई छ । उनले उक्त तारको वरिपरि रहेको खेतबारीमा काम गर्न समेत खतरा रहेको र प्राधिकारणलाई अनुरोध गर्दा समेत वेवास्ता गरेको बताए । बर्खाको समयमा जंगल तथा खेतबारीमा जानुपर्ने र पानी पर्ने समेत टुंगो नभएको समयमा खतरा हुने भएकोले पटक पटक अनुरोध गरिएको अध्यक्ष थापाले बताए । तर विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रका सूचना अधिकारी सुपरभाईजर लक्ष्मीप्रसाद रखाल प्राधिकरणलाई कुनै जानकारी नभएको बताएका छन् ।

त्यस्तै खाँदबारी २ स्थित तल्लो चेवामा पनि रुखमा नै तार राखिएको स्थानीयले जानकारी दिएका छन् । विद्युतका कारण २०७६ चैत्रमा एक जना चेवामा मृत्यु भएको प्राधिकरण खाँदबारील जनाएको छ ।