• रुमा रिजाल

उज्जवल भविष्यको सपना कोरेर इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा २०५८ सालमा ताप्लेजुँगबाट बसाई सरी आएका लक्ष्मण तामाङको परिवार अहिले ठूलो संकटमा छ । लकडाउन सुरु भएसँगै लक्ष्मणले आफ्ना छोराछोरीलाई पहिला जस्तै माडभएको भात खुवाउन सकिरहेका छैनन् । अहिले बजार पसल बन्द भएका कारण बजारमा नयाँ चामल भेटिन्दैन पुरानो चामलको माड निस्किन्दैन जुन २९ बर्षीया छोरीले त निल्न सक्दिनन्, उनका भाई बहिनीको त कुरै छाड्म ।

नेपाली सेनाका अवकास प्राप्त लक्ष्मण तामाङ र उनकी श्रीमती मनमाया सहज जीवनको सपना बोकेर तराई झरेका थिए । अहिले दुवैको जीवनको दुख चुलिदै गएको छ । पहाडबाट तराई झर्दा जुन सपना थियो उनीहरुमा अहिले त्यो पुरा भएको छैन् । सेनाको जागिरबाट दुख गरि कमाएको पैसाले लक्ष्मणले घर त बनाए तर छोराछोरीको भबिश्य भने बनाउन गाह्रो परेको छ । 

ruma rijal  1

पहिलो सन्तानको रुपमा लक्ष्मण र मनमायाले छोरीलाइ जन्म दिएका थिए । छोरी हुर्किदै गर्दा अर्को सन्तान छोरा जन्मियो । जेठी छोरी अस्मिता त स्कुल पनि जान थालिसकेकी थिइन । तर ७ वर्षको उमेर पुग्दै गर्दा अचानक उनको आँखामा समस्या देखियो । आँखा कम देख्छु भन्दा छोरीले उनीहरु निकै आतिएका थिए । लगतै छोरीको उपचार शुरु गरे । धेरै अस्पताल धाउदा पनि समस्याको पहिचान नै हुन सकेन । छोरीलाई सन्चो होला भनेर उनीहरुले धामी झाक्री, झाडफुक देखि अस्पताल सवै गरे तर छोरीको समस्या विसको उन्नाइस भएन । आखाँको मात्र नभइ केही दिनमा छोरीको बोली पनि लडवडिन थाल्यो । जिव्रोसँगै हातखुट्टाले पनि लडवडिन शुरु गरे । दुई वर्ष लक्ष्मण र मनमायाले गरेको प्रयास असफल भयो । छोरीको शरीरका सबै अंग चल्न बन्द भए । अन्तत छोरी ओछ्यानमा थलिन ।

जेठी छोरीको यो हालतले निकै मर्माहित भएको तामाङ दम्पतीको दुख लेख्न भगवानलाई यतिमात्र नपुगेको रहेछ । माइलो सन्तान छोरा पनि सात वर्षको भए पछि दिदिकै जस्तो समस्या आयो । शुरुमा आँखा कम देख्ने, अनि त्यस पछि दिदि जस्तै विस्तारै आँखा पुरै बन्द र हातखुट्टा पनि चल्न बन्द हुदै गए पछि दोश्रो सन्तानले पनि ओछ्यान समात्यो । आफ्ना मुटुका टुक्राहरुको यो अवस्थाले निकै दुखि भएको तामाङ दम्पतीमाथि बज्रपात नै भयो । उनीहरुको चार वटै सन्तान एउटै रोगले ओछ्यान परे ।
न आँखा देख्छन, न बोल्नै सक्छन । रहर लाग्दा सन्तान जन्माएकी मनमाया उनीहरुको यो अवस्था देखेर रातदिन रोएरै विताउछिन । सेनाको जागिरबाट अवकास पाएका लक्ष्मण पनि यिनै चार जना सन्तानको हेरचाह र रेखदेखमा हुन्छन । अहिले उनीहरुले झोलिलो खानेकुराबाहेक केहि निल्न समेत सक्दैनन ।

भएका सवै सन्तानलाई एउटै समस्या एउटै उमेरमा देखिने समस्यालाई चिकित्सकले वँशानुगत रोग बताउदैंआएका छन् । तर सन्चो पार्ने कुनै उपाय बताउन नदेखाएको उनीहरु बताउछन् । उपचारको लागि उनीहरुले धेरै रकम खर्च पनि गरिसके । आम्दानी पेन्सनको मात्र र नयाँ केही काम गर्न समयको अभावले उनीहरुलाई आर्थिक समस्या पनि बढदै गइरहेको छ । आर्थिक समस्याको साथै यो दम्पतीले अहिले सामाजिक पीर पनि भोग्नु परेको छ । भएका चारै सन्तानमा एउटै समस्या देखिए पछि, आफन्त, इष्टमित्र र छरछिमेक पनि टाढिएका छन । त्यो घरमा सरुवा रोग छ भनेर सवै जना तर्किन्छन ।सामाजिक रुपमा एक्लो पारिए पछि दुवै जना निराश छन । तर पनि उनीहरुको आशा मरेको छैन ।

फोटोमा देखिएको तामाङ दम्पतीका सन्तान जेठी छोरी अस्मिता २९, माइलो सरोज २८, साइली सुस्मिता २१ र कान्छो सन्दिप १४ बर्षका भए । कान्छो बाहेक तीन जनाले घरबाहिर निस्किन नसकेको वर्षै भयो । यी चार छोराछोरीको उमेर जति बढदै जान्छ मनमाया र लक्ष्मणले उनीहरुको बोलि सुन्न र सर्लक्क उठेर हिडेको देख्न नपाएको बर्ष त्यतिनै बढदै गइरहेको छ । छोराछोरीलाई पढाएर ठुलो मान्छे बनाउछु भन्ने रहर लक्ष्मणलाई थियो । तर सन्तान स्कुल जान सकेका छैनन । उनीहरु ठिँग उभिएर आफै हिडेर स्कुल गएको सपना आमा मनमायाले धेरै पटक देखि सकिन । तर विपनामा त्यो सम्भव भएको छैन । चार मध्ये कान्छा छोरा सन्दिपमा पनि नदेख्ने समस्या छ जुन उनी कक्षा १ मा पढदै गर्दा सुरु भयो । त्यसपछि त्यो क्रमिक बढदै जादैछ । उनीको पनि शरीर बिस्तारै थेग्न नसक्ने हुदैछ । छामछामछुमछुम गरेर यसो हिड्छन, बेला बेला ढल्छन बरबराउछन, त्यहि कारण अहिले विद्यालय जादैनन् पढाइ छुटयो ।

शुरुमा राम्रै भए पनि निश्चित उमेर पछि सन्तानमा एउटै समस्या देखिएको छ । तर चिकित्सकले यसको रोकथाम गर्न सकेका छैनन । यो समस्याको उपचार नै असम्भव होला जस्तो लक्ष्मणलाइ लाग्दैन । यो समस्याको उपचार त पक्कै पनि होला भन्ने उन्लाइ विश्वास छ । तर त्यस्तो अस्पताल खोजेर उपचार गर्न उनीसँग आर्थिक समस्या छ । हुन त यो बिचमा उनले केहि आर्थिक सहयोग इटहरी उपमाहानगरपालिकाको तर्फबाट समेत पाए तर त्यो नै पर्याप्त छैन ।  समस्याले पिरलोमा परेका लक्ष्मणको परिवारलाई अहिले आर्थिक सहयोगसंगै उचित सल्लाह र परामर्श दिने आफन्तको खाँचो छ ।

लक्ष्मणले उपचारका लागि बीर अस्पताल काठमाण्डौ लगे तर त्यहाँ लामो समयसम्म राखेर उपचार गर्दा खर्च मात्र भयाे रौग पत्ता नलागेको बताए । लक्ष्मण भन्छन –‘डाक्टरले बंशागुगत समस्या समेत हुनसक्छ भन्दै पछि मिर्गीको समस्या आउन सक्ने भएकाले औषधि खुवाउदै गर्नु भनेर थमाएर पठाए । पछि त्यो औषधिले खासै कम गरन ।’ लक्ष्मणले छोराछोरीलाई सिलगुडीसम्म उपचारका लागि पुर्याए जुनबेला अर्की छोरीमा समेत यस्तै समस्या देखा परिसकेको थियो । तर त्यँहा पनि डाक्टरले रोग पत्ता लगाउन नसकेपछि आफु निरास भएकाे उनी बताउछन् । अन्य राम्राे अस्पतालमा लान अव उनीसँग भएको पैसा सकिएको छ । आर्थिक समस्याले थप उपचारका लागि कही लान नसकेको उनको भनाई छ ।