ताप्लेजुङ । रोजगारीका लागि भारत गएका ताप्लेजुङका ५१ जना गृह जिल्ला आइपुगेका छन् ।

शुक्रबार बिहान दुई वटा बसमा सदरमुकाम फुङ्लिङमा आइपुगेका हुन् । विभिन्न नाका हुँदै स्वदेश फर्किएका उनीहरूलाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित क्वारेन्टिनमा राखिएको थियो । उनीहरूको पीसीआर रिपोर्ट नेगेटिभ देखिएपछि गृहजिल्ला पठाइएको थियो । उनीहरूलाई ताप्लेजुङ प्रवेशअघि पाँचथर ताप्लेजुङको सिमाना काबेलीस्थित हेल्थ डेक्समा समेत सामान्य स्वास्थ्य परीक्षण गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । 

सदरमुकाम आई पुगेपछि उनीहरू सबै आआफ्नो गाउँतर्फ गएका छन् । उनीहरूलाई गाउँपालिकाले व्यवस्था गरेको क्वारेन्टिनमा वा नभए घरैमा सुरक्षित बस्न आग्रह गरिएको प्रजिअ निरौलाले बताए । फर्किएका ५१ मध्ये सबैभन्दा बढी फक्ताङलुङ गाउँपालिकाका छन् ।