धरान । घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते बनेका धनकुटा पाख्रिबास नगरपालिका–३ का गणेशकुमार राईलाई साउदी अरबको किरात राई यायोक्खा क्षेत्रीय कार्य समिति (जेद्दा) ले आर्थिक सहयोग गरेको छ ।

लामो समय उपचारका कारण आर्थिक समस्या परेका राईलाई १ लाख ४६ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो । साउदीमा रहेका क्षेत्रीय कार्य समितिका सल्लाहकार प्रेम राई, दिलु राई, सुसान्त राई, बालकुमार राईको नेतृत्वमा रकम संकलन गरेर पठाइएको थियो । रकम प्रदान गर्नका लागि किराया सुनसरीले समन्वय गरेको थियो । किराया सुनसरीका अध्यक्ष बलराम राई, किरायाका केन्द्रीय सदस्य दोर्पध्वज राई, प्रेम राईकी श्रीमती रमा राईलगायतले पीडित परिवारलाई रकम प्रदान गरेको हो ।

पीडित परिवारका अनुसार उपचारमा करिब १८ लाख रुपैयाँ खर्च भएको थियो । खुट्टा भाच्चिएका कारण पीप जमेपछि टिटानस भएको थियो । सोही कारण नै उपचारमा खर्च बढी लागेको परिवारले जनाएको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भएको थियो ।