धरान / कुनै बेला गुण्डागर्दी र लागुऔषधबाट पहिचान पाएको धरान अहिले त्यस्तो नरहेको पाइएको छ । धरानमा गुण्डागर्दी गरेरखाने जमात धे्रै छ भनेर सुनेका इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपाने १३ महिना अघि धरानको इञ्जार्च भएर आए पछि आफुले सुने जस्तो धरान नपाएको बताए ।

‘धरानको शान्ति सुरक्षाको चुनौती गुण्डागर्दी होइन । यहाँ गुण्डागर्दी गरेर जीविकोपार्जन गर्ने पाखा लागि सकेका छन् ।’–उनले भने–‘लागुऔषध प्रयोग भने चुनौती छ । धेरै युवाहरु लागुऔषधसँगै हतियार बरामद भएका छन् । यो चाही चुनौतीको विषय हो ।’
बुधबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटीले आयोजना गरेको विदाई कार्यक्रममा डिएसपी न्यौपानेले धरानमा रहदा सबैसँगको सहकार्यमा आफ्नो जिम्मेवारी निर्वाह गर्न पाएको बताए ।

आज संगठनले उनको विदाई गरेको थियो । संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनिया, नेकपा धरान उपमहानगर कमिटी अध्यक्ष नारायण सुवेदी, मजदुर संगठनका धरान अध्यक्ष कमल भट्टराई , प्रेस संगठन नेपालका केन्दीय सदस्य देवेन्द्र कार्कीलगायतले डिएसपी न्याैपानेलाई  विदाईसँगै सफलताकाे शुभकामना दिएका थिए ।  

उनी १३ महिने कार्याकाल पुरा गरेर प्रहरी प्रधान कार्यालय काठमाडौं सरुवा भएका छन् । धरानमा डिएसपी ज्ञानेन्द्र बस्नेत अाउने भएका छन् ।