काठमाडौं / नेपालमा कोरोना भाइरसको संक्रमणबाट नेपालमा ६ जनाको मृत्यु भएको छ । भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका (९ का एक युवकको बाटोमै मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै ‍औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ ।

आज १७० थपिए
पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कपिलवस्तुमा ४३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । भरतपुरमा गरिएको परीक्षणमा २३ देखि २६ वर्षका चार जना र राप्तीमा गरिएको परीक्षणमा विजयनगरमा ९ जनामा संक्रमण पुष्टि भएको छ । भैरहवामा गरिएको परीक्षणमा १७ देखि ४४ वर्षका १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जानकारी दिएको छ ।

कचनाकवल गाउँपालिकाका १८ र ४१ वर्ष उमेरका २४ जना र तयारी भिट्टाका २४ देखि ५४ वर्ष उमेर समूका तीन जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुको थ्रोट स्वाबको परीक्षण कोशी अस्पताल, विराटनगरमा भएको थियो । यस्तै धरानमा गरिएको परीक्षणमा भद्रपुरका ३४ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

पर्सामा ५ र बारामा ४ जना संक्रमित थपिए । पर्साको पोखरियाका २१ देखि ४२ वर्ष उमेरका चार जना र जिरा भवानीका ३४ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । बाराको प्रचौटा राष्ट्रिय माविमा रहेका २७ देखि ४५ वर्ष उमेर समूहका चार जनाको रिपोर्ट पोजेटिभ आएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा सर्लाहीका ३१ वर्षीया महिलामा पनि कोरोना संक्रमण्म पुष्टि भएको छ ।