कालाबन्जार । सुनसरीको रामधुनी–२ शिवनगरको कुखुरा फार्ममा आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

स्थानीय सुगालाल चौधरीको कुखुरा फार्ममा विद्युत् सर्ट भई आगलागी भएको हो । बुधबार करिब अपरान्ह १२ बजेतिर भएको आगलागीले लोकल कुखुरामा क्षति पुगेको छ । बोइलर कुखुरा पालन गर्दै आएकोमा लकडाउन भएपछि स्थानीय जातका कुखुरा पालन गरेका थिए । त्यस्तै हाँस पनि पालन गरेका थिए ।

आगलागीबाट पूर्णरूपमा क्षति पुगेको छ । खाना खान घर गएको समयमा आगालागी भएपछि तत्काल क्षति न्यूनीकरण गर्न असम्भव रहेको पीडित परिवारले जनाएको छ । आगलागी भएको थाहा पाउने बित्तिकै जाली भत्काएका कारण ४–५ वटा कुखुरामात्रै बँचेको सुगालालले बताए । खोर नजिकै राखिएको अपाची कम्पनीको मोटरसाइकल पनि जलेर नष्ट भएको छ ।

फारममा बंगुर पालन, हाँस पालन, माछा पालन गर्नुका साथै तरकारी बारी पनि लगाइएको थियो । घटनाको जानकारी स्थानीय इलाका प्रहरीलाई गराएपछि प्रहरीले घटनाको विवरण लिएको सुगालालले बताए ।