धरान । बुधबारदेखि नेपालमा ‘थ्री डिजिट’ मा कोरोना संक्रमित बढ्न थालेका छन् ।
बुधबार ११४ जना कोरोना संक्रमित पुष्टि भएसँगै नेपालमा पहिलो पटक ‘थ्री डिजिट’ मा कोरोना संक्रमित देखिन थालेका थिए । आज –बिहीबार) पनि त्यसलाई निरन्तरता दिँदै १५६ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै गरेको अद्यावधिकमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित थपिएका हुन् । कुल संख्या १ हजार ४२ पुगेको छ । जसमध्ये ५ जनाको मृत्यु भइसकेको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।
झापाको कचनकवल दोस्रो ‘इपिसेन्टर’
झापाको कचनकवलमा कोरोना संक्रमितका हिसाबले प्रदेश १ को ‘दोस्रो इपिसेन्टर’ बनेको छ । यसअघि भुल्के प्रदेश १ को पहिलो इपिसेन्टर बनेको थियो । बिहीबार पनि थप २५ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोशी अस्पताल विराटनगरको प्रयोगशाला गरिएको पीसीआर परीक्षणमा झापामा थप २५ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए । सबै कचनकवलका क्वारेन्टाइन बसेकाबाट पुष्टि भएको उनले बताए ।
कचनकवल गाउँपालिकामै २५ जना थपिएसँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या ७९ पुगेको छ । कचनकवलमा मात्रै सङ्क्रमितको सङ्ख्या ७३ जना पुगेको हो । कचनकवलमा बुधबार मात्रै १५ जना थपिएका थिए । गाउँपालिकाले १६२ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो ।
त्यसमध्ये बुधबार ५६ जनाको रिपोर्ट आएकोमा बिहीबार अन्यको रिपोर्ट आउँदा सङ्क्रमितको सङ्ख्या बढेको बताइएको छ । क्वारेन्टाइनमा बसेका सबै भारतको सङ्क्रमित क्षेत्र मुम्बई, दिल्ली, गुजरात, तामिलनाडु भन्ने स्थानबाट आएका हुन् । गाउँपालिकाकामा अहिलेसम्म भारतबाट ४ सय बढी नेपाली नागरिक आइसकेका छन् । यसअघि झापामा बाह्रदशी गाउँपालिका र गौरदाह नगरपालिकामा दुई÷दुई जना र झापा गाउँपालिका र दमक नगरपालिकामा एक एक जना सङ्क्रमित भेटिएका थिए ।