धरान । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संलग्नहरूलाई सवस्र्वसहित जन्मकैदको माग गर्दै धरानमा प्रदर्शन गरिएको छ ।

धरानको छाताचौकदेखि भानुचौकसम्म ‘जातीय विभेदविरुद्ध धरान’ को अगुवाईमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा करिब ३ सयको संख्यामा विभिन्न संघसंस्था, दलित संघसंस्था, आदिवासी जनजाति, राजनीतिक पार्टीका नेता कार्यकर्ता सहभागी बनेका थिए । गत शनिबार जाजरकोट जिल्लाको भेरी नगरपालिका–४ का नवराज विकसहित ६ जनालाई भेरी नदीमा बेपत्ता बनाइएको थियो । एक मल्ल थरकी युवतीलाई लिन पुगेका उनीहरूलाई गाउँलेहरूले आक्रमण गर्ने क्रममा भेरी नदीमा हामफालेको भन्दै घटना बाहिर ल्याइएको छ ।

lalit rai_pic_dalit_2

तस्बिरः ललित राइ

तर, दलित अधिकारकर्मीहरूले आफै हामनफालेर गाउँलेहरूले नै आक्रमण गरी मारेर फालेको दाबी गर्दै आएका छन् । घटनामा संलग्न एक वडाध्यक्षसहित १८ जनालाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ भने २ जना फरार छ । पीडित परिवारले २० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । उक्त घटनामा दोषीलाई सर्वस्वसहित जन्मकैद हुनुपर्ने माग गर्दै धरानमा बुधबार प्रदर्शन गरिएको हो ।

नेकपाका प्रदेश सदस्य डिबी साह संकर, नेपाली कांग्रेस निकट दलित संघका केन्द्रीय सदस्य गोविन्द विक र दलित विकास समिति धरान उपमहानगरपालिकाका सदस्य सचिव तारा लामगादेले मृतकहरूलाई सहीद घोषणा गरिनुपर्ने, घटनामा संलग्नलाई सर्वस्वसहित जन्मकैद हुनुपर्ने माग गरे । उनीहरूले यो घटना हुनुमा प्रेम सहायक मात्रै रहकेो जातीय विभेदकै कारण हत्याकाण्ड भएको आरोप लगाए । ‘प्रेम सहायक मात्रै हो, यो जातीय विभेद नै हो’–लामगादेले भने ।

lalit rai_pic_dalit_one

तस्बिरः ललित राइ

उनले राजनीतिक क्रान्ति सफल भए पनि सांस्कृतिक क्रान्ति अझै सफल नभएको दाबी गरे । घटनामा संलग्नलाई कारबाही नभए थप आन्दोलन गर्ने बताए । उनले आफूहरूको आन्दोलन कुनै जातिविशेष नभएर प्रवृत्ति र संस्कार विरुद्ध रहेको बताए । सहीद घोषणा गर्नुपर्ने, दोषीलाई सर्वस्वसहित जन्मकैदको व्यवस्था गर्नुपर्नेलगायतको माग राख्दै धरानको इलाका प्रशासन कार्यालयमार्फत् गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् ।

प्रदर्शनका क्रममा गरिएको हस्ताक्षरसहितको ज्ञापन पत्र इलाका प्रशासनमार्फत् गृहमन्त्रालयमा पठाइएको उनले बताए । माग पूरा नभई थप आन्दोलन गरिने उनले चेतावनी पनि दिए । सरकारले दुई दिनअघि नै सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय टोली गठन गरेको छ । घटनाका विषयमा अहिले देशविदेशमा व्यापक आलोचना भइरहेको छ । घटनामा सहभागी हुन आएका १९ मध्ये ६ जना बेपत्ता बनेका थिए । त्यसमध्ये ४ जनाको शव पनि फेला परिसकेको छ भने दुई जना अझै बेपत्ता रहेका छन् ।