विराटनगर /  भारतको जोगबनी नाका हुँदै ३ सय ४ जना नेपालीहरु विराटनगर भित्रिएका छन् । उनीहरुलाई मंगलबारराति उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । 
भारतबाट आएकाहरुलाई विराटनगर–१३ स्थित डीएभी स्कुलको होल्डिङ स्टेसनमा राखिएको प्रहरीले जनाएको छ । नेपाल प्रवेश गर्नेहरुमा रुकुम पश्चिमदेखि विभिन्न जिल्लाका छन् । रुकुम पश्चिमका ८ जना  छन् । सुनसरीका २३ जनालाई भने दुहबी नगरपालिका वडा नं. ४ का वडा अध्यक्षले सुनसरीतर्फ लगेको मोरङ प्रहरीले जनाएको छ ।

सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारतीय सुरक्षा निकायसँगको समन्वयमा नेपाल ल्याइएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए । सम्पूर्ण विवरण टिपेर सामान्य स्वास्थ्य जाँचपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहहरुमा पठाइने भुजेलले बताए । स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा कोरोना जाँच गरेपछि मात्र उनीहरुलाई घर जान दिइने भुजेलले बताए ।naka 4

जोगबनी नाकासम्म भारतका विभिन्न क्षेत्रबाट आएका र त्यहीं आसपासका नेपालीलाई प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय मोरङ र  विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर ल्याइएको हो । 
नजिकैको पालिकाकाहरुका भए उनीहरुलाई सम्बन्धित पालिकाको जिम्मा लगाइने छ ।

पालिकाले नै उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्नेछन् । तर, टाढाको भए विराटनगरमा निर्मित होल्डिङ सेन्टरमा राखी पुनः नाम अधावधिक गरेर पठाइने बताइएको छ । भारतबाट आएका नेपालीको अनिवार्य स्वास्थ्य परीक्षण गरिने प्रजिअ भुजेलले जानकारी दिए । naka 2