धरान । भारतबाट आएका बाग्लुङका ६ युवामा कोरोना भएको पुष्टि भएको छ । बाग्लुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूका अनुसार थप ६ युवामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै प्रदेश ३ हटौंडाकी २५ वर्षीया एक युवतीमा पनि बुधबार बिहान कोरोना भएको पुष्टि भएको छ । 

बाग्लुङका ६ युवाहरू बडिगाड र तमान खोलाका बासी हुन् । उनीहरूलाई बाग्लुङको धौलागिरी अस्पतालमा उपचारको लागि ल्याइँदै छ । उनीहरूलई सम्बन्धित पालिकाको क्वारेन्टिनमा राखिएको थियो । नेपालमा हालसम्म कूल संख्या ७७९ पुगेको छ । 

तर, हालसम्म पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या अद्यावधिक गरेको छैन । हालसम्म कोरोना संक्रमितमध्ये १७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । मंगलबार साँझ मात्रै पर्साका २१ जना संक्रमित डिस्चार्ज भएका थिए । 

नेपालमा पछिल्लो समय दोहोरो अङ्कमा कोरोना संक्रमित देखिन थालेका छन् । हिजो मात्रै ९० जना नयाँ संक्रमित भेटिएका थिए । पीसीआर परीक्षण सुस्त भएका कारण पनि कोरोना संक्रमित नदेखिएका हुनसक्ने विज्ञहरूले औल्याउँदै आएका छन् । नेपाली कांग्रेसले पनि पीसीआरको दायरा बढाउनका लागि माग गर्दै आएको छ । सरकारले हालसम्म ५४ हजार ६९७ जनाको मात्रै पीसीआर गरिएको छ । 

नेपालमा हालसम्म ४ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ भने हिजो सप्तरीमा मृत्यु भएकी गर्भवती महिलाको कोरोनाबाट मृत्यु भएको हो अन्य कारणले मृत्यु भएको हो भन्ने पुष्टि हुन सकेको छैन । त्यस्तै आज मात्रै धनगढीस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका एक ५० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनीहरूको पीसीआर जाँच पछि मात्रै कोरोना भएनभएको पुष्टि हुनेछ ।