कालाबञ्जार । आगोले पोलेर गम्भीर घाइते बनेकी बालिकाको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ ।

वराहक्षेत्र नगरपालिका–५ सिमरवन चोककी ५ वर्षीया बालिका देविका विकको आगोले पोलेर गम्भीर घाइते बनेकी थिइन् । करिब चार महिनाअघि शरीरको अगाडि छातीको भाग र पेटमा पोलेको थियो । परिवारलाई देविकाकाे उपचार विराटनगरको म्याक्स अस्पतालमा गरिरहेका थिए । तर, उपचार अभाव हुँदा उनको उपचार अगाडि बढ्न नसकेको आमा लक्ष्मी बराइलीले जनाइन् । 

उनलाई गत माघ २२ गते घरमा नै खेल्ने क्रममा आगोले पोलेको थियो । उनको पोलेको भागमा छाला लगाउनुपर्ने (स्किन ग्राफ्टिङ) गर्न चिकित्सकले सुझाव दिएपछि विक परिवार थप चपेटामा परेको थियो । छोरीको उपचारमा वराहक्षेत्र–५ का समाजसेवी तथा व्यापारी प्रदीप ढकालको पहलमा मंगलबार ४२ हजार २९५ रुपैयाँ आर्थिक सहयोग जुटेको छ । 

संकलित रकम ढकालले पीडित बालिकाका अभिभावक उमेश विक र लक्ष्मी बराइलीलाई प्रदान गरेका छन् । यसका लागि वराहक्षेत्रको स्थानीय युट्युव टेलिभिजन वराह टिभीले सहयोगको लागि अपिल गरेको थियो । विक दम्पत्तीले उपचारको लागि सहयोगको याचना समेत गरेका थिए । उनीहरूले मितेरी बैंकको खाता नम्बर ०१५११२०००४३६२५०००००१ खोलेका थिए । उक्त खातामा रकम जम्मा गरिदिएको ढकालले जनाए । 

पीडित बालिकालाई उपचारका लागि काठमाडौंमा लाने तयारी गरिएको बुबा उमेशले जानकारी दिए । आर्थिक संकलन हुने क्रममा जारी रहेको छ । प्रबोध साप्ताहिकका प्रबन्ध निर्देशक लम्जेल संघर्षशीलको पहलमा धरानका अपाङ्ग पुनस्थापना केन्द्रका निर्देशक सुनिल खड्काले २० हजार नगद र धरानमा ड्रेसिङ उपचार गरिदिने र कुरुवालाई खान बस्न सुविधा गरिदिने लम्जेलले बताए ।